देशमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै हुनुपर्ने माग गर्दै आएको नेकपा एमालेको ११ औं महाधिवेशन शनिबार सुरु हुँदैछ। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन नदिने अडानमा रहेको एमालेको यो महाधिवेशनलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। महाधिवेशन उद्घाटन सभा भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा हुनेछ।
एमाले बाहिरको पंक्तिले यो महाधिवेशनले बदलिँदो राजनीतिक परिस्थितिमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेको छ। पार्टीभित्र पनि यस्तै अपेक्षा छ तर नेतृत्व हस्तान्तरण विषयमा रस्साकस्सी छ। एमालेभित्रको एउटा समूहले बदलिँदो राजनीतिक परिस्थितिमा नेतृत्व बदलिनुपर्ने मान्यता राख्छन् भने अर्काे समूह केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिनुपर्ने अडानमा छ। ओली स्वयं पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिन चाहन्छन् । उनले आफ्नै नाममा सहमति जनाउन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आग्रह गर्दै आएका छन्। नेतृत्व बदलिन्छ वा दोहोरिन्छ महाधिवेशन प्रतिनिधिले निर्णय गर्नेछन्।
जेनजी आन्दोलनको रापतापबाट माथि उठेर आफ्ना मुद्दालाई बलियोसँग प्रस्तुत गर्दै आएको एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको मागसमेत गर्दै आएको छ।
असामान्य राजनीतिक स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न तथा जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपले गर्न सरकार असफल भएको एमाले धारणा छ। देशभरिबाट आएका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा एमालेमाथि नै बढी प्रहार भएको महसुस गरेको बताएका छन्। उनीहरुले यो कुरा पार्टी नेतृत्वसमक्षसमेत भनिसकेका छन्। यस्तो अवस्थामा महाधिवेशनपछि एमाले नेतृत्व र नीति कस्तो आउँछ भन्नेमा सर्वत्र चासो छ।
एमालेले निरंकुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेशको चरम अवस्था एवं प्राकृतिक एवं मानव निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुध्दै र विजय हासिल गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउने गरी यो महाधिवेशन हुन लागेको जनाएको छ।
युवामा चरम निराशा, बेरोजगारी, राजनीतिक असफलता र भविष्यप्रतिको अनिश्चिततासँगै जन्मिएको जेनजी आन्दोलनले देशमा राजनीतिक उथलपुथल ल्याएपछि एमाले नेता–कार्यकर्ताहरुलाई पार्टी र मूल नेतृत्वको पक्षमा वकालत गर्न कठिनाइ परिरहेको छ।
कांग्रेस र एमालेको दुईतिहाइ बहुमतले बनेको ओली नेतृत्वको सरकार जेनजी आन्दोलन सुरु भएको करिब २७ घन्टामा ढलेको थियो। जनतालाई एकपछि अर्को आश्वासन दिने र चुनाव जितेका नेताहरू एकपछि अर्को गर्दै भ्रष्टाचार, बेथिति र विसंगतिको मतियार बन्न थालेपछि जनतामा आक्रोश चुलिँदै गएको हो। यसैकारण जेनजी आन्दोलन भएको र त्यसले ओली सरकारलाई ढालेको थियो।
पुरानो असफल नेतृत्व र राजनीतिक शैलीविरुद्ध युवा पुस्ताले भविष्य खोज्दै गरेको विद्रोह स्वीकार गर्न एमाले नेतृत्वलाई कठिन भैरहेको छ। सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन ओली नेतृत्वको सरकारको निर्णयसँगसँगै उत्पन्न आक्रोश, भ्रष्टाचारविरुद्ध र ‘नेपो बेबी’ अभियान सामाजिक सञ्जाल हुँदै सडकमा पुग्दा परिस्थिति असामान्य बन्यो। जेनजी आन्दोलनको पहिलो दिन गत भदौ २३ गते सुरक्षाकर्मीको गोली लागेर २२ जनाको मृत्यु भयो।
२४ गते आन्दोलनले हिंसात्मक मोड लिँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत मुलुकका महत्त्वपूर्ण संरचनाहरु ध्वस्त भए। दलीय सरकार ढल्यो, अन्तरिम सरकार बन्यो, प्रतिनिधिसभा विघटन भयो। परिस्थिति असन्तुलित बनेपछि एमालेभित्र नेतृत्वको आलोचना हुन थाल्यो। पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस सुरु भयो। नयाँ परिस्थितिमा महाधिवेशन गरी अघि बढ्ने निर्णय भयो। अध्यक्षमा ओलीको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्रै चर्को बनेपछि ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा घोषणा गरिसकेका छन्।
महाधिवेशन उद्घाटनसत्र सकिएपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रले नेतृत्व चयनलाई प्रक्रियामा लैजानेछ। महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न आग्रह गरेका छन्।
विधान संशोधन गरेर अहिलेका सबै पदाधिकारीहरु रहनेगरी आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न उनले आग्रह गरेका हुन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने पछिल्लो राजनीतक घटनाक्रमले दलहरुको नेतृत्व र सांगठानिक संरचनामा परिवर्तन खोजेको र एउटै व्यक्ति, लामो समय नेतृत्वमा हुँदा नेता–कार्यकर्ताले मात्र होइन, जनतालेसमेत रुचाउन छाडेका कारण आफ्नै नाममा सहमति गर्नुपर्ने धारणा राखेका थिए। उनले ओलीलाई अभिभावक भएर बस्न र पार्टी सञ्चालनमा सहयोग गर्न आग्रहसमेत गरेका छन्। ओलीले भने बलियो नेतृत्वलाई पन्छाएर पार्टी बन्न नसक्ने, देशीविदेशी दुवै शक्तिले पार्टीमाथि हमला गरेको र नेतृत्वमाथिा पनि हमला गरेका कारण आफ्नै नाममा सहमति गर्न आग्रह गरेका थिए।
सचिवालयका सदस्य एवं सचिव योगेश भट्टराईले सहमतिको खाका मागे पनि ओलीले विधान संशोधनबाहेक अन्य खाका दिएनन्।
एमालेभित्र पदाधिकारीमा आकांक्षी बढी भएपछि फेरि विधान संशोधन प्रस्ताव गरिएको छ। आकांक्षीको व्यवस्थापन गर्न यसअघि भदौमा विधान महाधिवेशनबाट संशोधन गरिएको विधानलाई फेरि पूर्ववत अवस्थामा फर्काउन लागिएको हो।
पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित नेतृत्व चयन प्रक्रियाका निम्ति विभिन्न क्लष्टर थप्नेसम्मको तयारी छ तर पोखरेल समूह पदाधिकारी थपको प्रस्ताव नमान्ने अडानमा छ। विधान संशोधन गर्नैपर्ने भए २ कार्यकाल र ७० वर्षे व्यवस्था पनि ब्युँताउनुपर्ने पोखरेल पक्षको भनाइ छ। सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमा पोखरेल पक्षले असहमति राखेपछि निर्णय हुन सकेन।
बैठकमा पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीले महासचिवमा आआफ्नो दाबी रहेको बताएका थिए। दुवै जना ओली समूहमा छन् तर पोखरेल समूहबाट कसैले पनि कुनै पदाधिकारीमा दाबी नगरेको बैठक स्रोतले जनाएको छ। लामो समय ओलीले आफू अध्यक्षमा किन दोहोरिन चाहेको भन्ने धारणा राखेका थिए। पोखरेलले पनि लामो समय लिएर आफ्नो उम्मेदवारीबारे धारणा राखेको स्रोतको दाबी छ।
पोखरेलले विगतमा आफूले सहयोग गरेको स्मरण गराउँदै यसपटक आफूलाई सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए। सबैजसो पदाधिकारीले बैठकमा धारणा राखेका थिए । सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमा पोखरेल पक्षले असहमति राखेपछि निर्णय हुन सकेन।
उद्घाटन सत्रमा दुई लाख बढीको अपेक्षा
महाधिवेशन उदघाटन सत्रमा शनिबार कम्तीमा दुई लाख बढी मानिस सहभागी हुने दाबी एमालेले गरेको छ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ बिघा) खाली जग्गामा हुनेछ। उद्घाटनका लागि त्यहाँ प्रविधियुक्त आधुनिक मञ्च बनाइएको छ।
महाधिवेशन तयारीबारे जानकारी गराउन शुक्रबार सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तीन लाख मानिस उद्घाटन सत्रमा सहभागी हुने बताए। सभा व्यवस्थापनका लागि १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन हुने उनले बताए। समग्र एमाले पंक्तिले भने दुई लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरेको छ।
सभालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन स्वयंसेवकसँगै सुरक्षाकर्मी, पार्टीका नेसनल युथ भोलेन्टियर्स, भूतपूर्व सैनिक खटाइने छ। अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुदेखि सल्लाघारीसम्म सुरक्षाकर्मीको तीन समूहले मञ्चसम्म ल्याउने गौतमले बताए।
स्वयंसेवक परिचालन कमिटीका संयोजक भानुभक्त ढकालले सुरक्षार्थ खटाइने १० हजार स्वयंसेवकमध्ये १० बराबर एक कमाण्डरको व्यवस्था गरिएको बताए।
महाधिवेशन जनपरिचालन कमिटी संयोजक डा. राजन भट्टराईले एमालेले ११औं महाधिवेशनबाट नयाँ मानक स्थापित गर्ने बताए। उनले महाधिवेशन उद्घाटनसत्रका लागि अहिलेसम्म कसैले नबनाएको ठुलो र प्रविधियुक्त मञ्च बनाएको दाबी गरे।
पृष्ठभूमिमा चाँगुनारायण मन्दिर
मञ्च व्यवस्थापन कमिटीका संयोजक तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सभास्थलभन्दा ३ किलोमिटर टाढासम्म सुनिने गरी आधुनिक साउन्ड सिस्टमको व्यवस्था गरिएको बताए। प्रविधियुक्त मञ्च व्यवस्थापनमा विज्ञ प्राविधिक टोलीको सहभागिता रहेको जानकारी दिँदै उनले अहिलेसम्म यत्ति ठुलो र आधुनिक मञ्च निर्माण कसैले नगरेको दाबी गरे।
मञ्चको पृष्ठभूमिमा चाँगुनारायण, पशुपतिनाथसहितका मन्दिर, भक्तपुरका पर्यटकीय स्थलको तस्बिर र सांस्कृतिक प्रदर्शनलाई प्राथमिकतामा राखिएको छ। मञ्चको दायाँ–बायाँ डिस्प्ले बोर्ड राखिएको र छेउमा अध्यक्ष ओलीको ठुलो आकारको तस्बिर राखिएको छ। एकातिर धरहरा र त्यसमा पार्टीको लोगोअंकित व्यानर र अर्कातिर राष्ट्रिय झण्डासहित ओलीको तस्बिर राखिएको छ।
जगाती र ठिमीमा गाडी पार्किङको व्यवस्था मिलाइएको छ। मञ्चमा नेवाः भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा विभिन्न सन्देश लेखिएका व्यानर राखिएका छन्। उद्घाटनसत्रमा दुई सय बढी पहिचानजन्य जातीय समुदायको सांस्कृतिक झाँकीसहितको प्रस्तुति हुनेछ। महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजक पक्षले जनाएको छ।
२२६२ जना प्रतिनिधि
महाधिवेशनमा आयोजक र मनोनितसहित दुई हजार दुई सय ६२ जना प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित ४६४ जना प्रतिनिधि रहनेछन्। केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट २५ प्रतिनिधि हुनेछन्।
स्वदेशका प्रदेशस्तरीय (विशेष प्रदेशसहित) का कमिटीहरूबाट कम्तीमा दुईजना महिलासहित पाँच जनाका दरले ४५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। महाधिवेशनमा सबैभन्दा धेरै प्रतिनिधित्व हुने क्लस्टर भूगोल हो, जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ।
१६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशी सिद्धान्तअनुसार एक हजार एक सय ३५ जना प्रतिनिधि सहभागी हुनेछन्, जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार दुई सय पार्टी सदस्य बराबर ४० वर्षमुनिका एकजना र एकजना महिलासहित ४ जनाले प्रतिनिधित्व गरेका छन्।
एमालेका प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीन महिलासहित १० जना, अमेरिका÷क्यानडा, युरोप, एसिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित ३५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरूमध्येबाट एक÷एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। एमालेका खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु, युवा संघ नेपाललगायत २३ वटा जनसंगठनबाट कम्तीमा दुई महिलासहित पाँच जना प्रतिनिधि सहभागी हुनेछन्।
यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या दुई हजार २६ जना हुनेछन् । एमाले विधानअनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ। जसअनुसार पार्टी सचिवालयले १०८ जनासहित प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधि संख्या दुई हजार दुई सय ६२ पुग्नेछ।
१६ दललाई निम्ता
एमालेले महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुन नेपालका १६ वटा दललाई निम्तो दिएको छ । विदेशी पाहुना भने आउने छैनन्। विदेशी मुलुकका राजनीतिक दललाई निम्ता गरिएको छैन। विभिन्न देशका २६ वटा दललाई शुभकामना पत्र मात्रै पठाउन भनिएको छ।
महाधिवेशन मूल व्यवस्थापन सचिवालयका सदस्य महेश बर्तौलाका अनुसार यस पटक विदेशी पाहुना आउने छैनन। ‘यो पटकको महाधिवेशनमा बाह्य देशका पाहुनालाई आमन्त्रित गरेका छैनौं। शुभकामनापत्र मात्रै माग गरेका छौं। विभिन्न देशका राजनीतिक दललाई शुभकामना पत्र पठाउने भनेर पत्राचार गरेका छौँ। यसका लागि विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध २६ वटा पार्टी र गैरकम्युनिस्ट पार्टीलाई निमन्त्रणा पठाएका छौं’, उनले भने।
पदाधिकारीमा दाबी
अध्यक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
कोसी प्रदेश
गुरू बराल, योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल, परशुमेघी गुरुङ, विनोद ढकाल, विजय सुब्बा, भगवती चौधरी, यज्ञराज सुनुवार, विशाल भट्टराई।
मधेस प्रदेश
रघुवीर महासेठ, लीला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुलीकुमारी महतो।
बागमती प्रदेश
अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विन्दा पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, शेरबहादुर तामाङ, सीताकुमारी पौडेल, अरुण नेपाल, गोकुल बाँस्कोटा, सुरेन्द्र मानन्धर, महेश बस्नेत, विनोद श्रेष्ठ, रचना खड्का, उषा तिमल्सिना, आनन्द पोखरेल, पार्वत गुरुङ, गणेश पहाडी, सरिता न्यौपाने।
लुम्बिनी प्रदेश
युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, ठाकुर गैरे, लीला गिरी, वैजनाथ चौधरी, खिमलाल भट्टराई, सूर्य थापा, रामकुमारी झाँक्री, शान्ता चौधरी।
गण्डकी प्रदेश
पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, किरण गुरुङ, थममाया थापा, खगराज अधिकारी, जगत् विश्वकर्मा, विद्या भट्टराई, भगवती न्यौपाने।
कर्णाली प्रदेश
यामलाल कँडेल, गोरखबहादुर बोगटी, भैरवबहादुर श्रेष्ठ।
सुदूरपश्चिम प्रदेश
लेखराज भट्ट, कर्ण थापा, दामोदर भण्डारी, निरुदेवी पाल।
केन्द्रीय सदस्यबाट
माधव ढुंगेल, झपट रावल, किशोरविक्रम मल्ल, नविना लामा, विष्णु रिजाल, निरज आचार्य, विद्या भट्टराई, उषाकिरण तिम्सिना, ऐन महर, रमेश पौडेललगायत।
केन्द्रीय सदस्यमा डेब्यु
उद्योगी व्यवसायीबाट भागिरथ सापकोटा, सुदूरपश्चिमबाट द्वारिका न्यौपाने, कोसीबाट बुद्धिकुमार राजभण्डारी, मधेसबाट राधिका खतिवडा, युवाबाट सुहाङ नेम्वाङ, प्रकाश पौडेल, क्षितिज थेवे, सम्पर्कबाट फूर्वा शेर्पा, विद्यार्थीबाट समीक बडाल, प्रेस चौतारीबाट राजेन्द्र अर्याल।
प्रकाशित: २७ मंसिर २०८२ ०६:२१ शनिबार





