२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पोलिटब्यूरोपछि एमाले नेताका धारणा : पार्टी थप एकताबद्ध हुने आधार तय भयो

नेकपा (एमाले)का नेताहरूले पोलिटब्यूरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने सङ्कल्प गरेको बताएका छन्। महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्।  

महासचिव पोखरेलले ‘वादे वादे जायते तत्व बोध’ शीर्षकमा फेसबुकमा लेख्दै पार्टीको सचिवालय बैठकले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई पोलिटब्यूरो बैठकले सर्वसम्मत रूपमा स्वीकारेको उल्लेख गरेका छन्। महासचिव पोखरेलले साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा यी प्रस्तावहरू पेस गरिने लेखेका छन्। महासचिव पोखरेलले सचिवालय र पोलिटब्यूरोका बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउने सङ्कल्प गरेको उल्लेख गरे।  

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको समग्र परिदृश्यको चर्चा गर्दै विधानको बहसका विषयमा चौथो पोलिटब्यूरो बैठक ‘कट अफ बैठक’का रूपमा रहेको उल्लेख गरेका छन्। उनले सचिवालयले विधान संशोधनका लागि पेस गरेको प्रस्ताव पोलिटब्यूरो बैठकले महत्त्वपूर्ण सुझाव, टिप्पणी र रायसहित प्रस्तुत गरेको बताए।  

ज्ञवालीले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका धारणाहरू पनि सार्वजनिक गरेका छन्। ‘पार्टी जीवनको लोकतान्त्रीकरणलाई सुविधा अनुसार खास बुँदामा होइन समष्टिमा बुझ्नु पर्ने,पार्टीको सुदृढ एकता र त्यसको बलमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदै समृद्धि नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नु आफ्नो एक मात्र उद्देश्य रहेको बताउनुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमा उल्लेख  गरेका छन्।  

२०७८ असोजमा भएको विधान महाधिवेशन र सोही वर्षको मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जाल मा भइरहेका भ्रामक प्रचारलाई बैठकले खारेज गरेको ज्ञवालीले उल्लेख गरेका छन्। ज्ञवालीले लेखेका छन्, ‘यस बैठकलाई कट अफ बैठकका रूपमा लिने र सिङ्गो पार्टी भावनात्मक एकताका साथ अगाडी बढ्ने सङ्कल्प पनि बैठकले गरेको छ।’

स्थायी कमिटी सदस्य भट्टराईले पूर्व राष्ट्रप्रमुखलाई राजनीतिमा पुन संलग्न हुने विषयलाई लिएर एमालेभित्र भाँडभैला मच्चाउने  तत्त्वहरूलाई पोलिटब्युरो बैठकले निराश पारेको बताएका छन्। ‘यो बैठकले पार्टी एकताप्रति गहिरो प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पार्टी अझ एकताबद्ध र सुदृढ भएर अघि बढ्ने मार्ग चित्र पनि प्रस्तुत गरेको छ,’ भट्टराईले लेखेका छन्।

प्रकाशित: ४ श्रावण २०८२ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App