१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकार ढल्ने हल्ला फैलाउनेहरू सरकार टिकिरहेको देखेर आफैं ढल्छन्: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने हल्ला फैलाउनेहरू सरकार टिकिरहेको देखेर आफैं बेहोस हुने टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सत्ता परिवर्तनको निरन्तर हल्ला चलाउनेहरूलाई लक्षित गर्दै सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरे।

सम्बोधनका क्रममा सभापति लामिछानेले सरकारको आयुलाई लिएर विभिन्न चाडपर्वको भाका राख्दै हल्ला चलाइएको बताए।

‘कहिलेकाहीँ सुनिन्छ- सरकार कमजोर भयो, उस्तै परे अहिले ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा झर्छ, छठ वा नेपाल संवत्मा ढल्छ,’ लामिछानेले भने, ‘ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर आफैं बेहोस भएर ढल्छ, सरकार ढल्दैन। बिल्कुल ढल्दैन।’

व्यक्ति विशेषलाई हेरेर नभई इतिहास बदल्ने प्रेरणासहित वर्तमान सत्ता समीकरण बनेकाले सरकार बलियो रहेको उनले जिकिर गरे।

सडक आन्दोलन र आँधीबेहरीको धम्की दिएर सरकार ढाल्ने प्रयास नगर्न चेतावनी दिँदै उनले सरकार फेर्ने वैधानिक बाटो आवधिक निर्वाचन मात्र भएको बताए।

‘आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौं, अब चुनावबाट मात्रै सरकार फेरौं। सरकार चुनावले फेर्छ,’ उनले भने, ‘लोकतन्त्रलाई निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ।’

लोकतन्त्रको रक्षा कुनै एउटा दलको ठेक्का नभएको उल्लेख गर्दै उनले लोकतन्त्रमाथि संकट आइपरे जनता आफैंले जोगाउने बताए।

साथै, निर्वाचनको निष्पक्षता, सुरक्षा निकाय र नेपाली सेनामाथि हल्का टिप्पणी गरेर जनमतको अपमान नगर्न पनि उनले राजनीतिक दलहरूलाई आग्रह गरे।

बीपी कोइरालाका सच्चा अनुयायीहरूलाई एक पटक नयाँ शक्तिलाई काम गर्ने अवसर दिन आग्रह गर्दै लामिछानेले भने, ‘पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्, सबैभन्दा पहिला रास्वपाकै सदस्यता च्यातिदिनुस्।’

प्रकाशित: १८ आश्विन २०८३ १७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App