नवगठित नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीलाई बुढापाकाको पार्टी मात्र भन्नु गलत भएको टिप्पणी गरेका छन्। उनले यो युवा, महिला, बालबालिकादेखि आमजनता सबैको पार्टी भएको बताए
आइतबार पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको उपलब्ध पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन्।
‘यो पार्टी बुढापाकाहरुको पार्टी मात्र होइन,’ नेता खनालले भने, ‘यो युवाहरुको पार्टी पनि हो, बच्चाहरुको पार्टी पनि हो, महिलाहरुको पार्टी पनि हो, पुरुषको पार्टी पनि हो, आम जनताको पार्टी हो।’
उनले कम्युनिष्ट पार्टी भनेको पाका, युवा र किशोर सबैको साझा पार्टी भएको उल्लेख गर्दै नयाँ पार्टीले युवाहरूलाई प्रोत्साहन र प्राथमिकता दिने नीति लिनेमा जोड दिए।
अन्य दलहरूले ‘वृद्धहरूको पार्टी’ भनेर गरेको टिप्पणीको जवाफ दिँदै उनले भने, ‘यो पार्टीलाई कसैले पनि बुढापाकाको पार्टी नभने हुन्छ, बरु आफ्नो ऐना आफैले हेर्नु सबैभन्दा राम्रो।’
नेता खनालले वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने अभियान जारी रहेको जानकारी दिए। उनले अशोक राई र राजेन्द्र श्रेष्ठ नेतृत्वको पार्टीसँग एकताका लागि निरन्तर कुराकानी भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।
‘अवश्य नै अशोक कमरेडसँग पनि कुराकानी भइरहेको छ, राजेन्द्र कमरेडसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ, केही अवधिभित्रमा उहाँहरूको पार्टी पनि एकीकृत हुन्छ,’ खनालले भने।
त्यसैगरी, समाजवादीबाट छुट्टिएर छुट्टै समूह बनाएका घनश्याम भूसालसँग पनि संवाद भइरहेको उनले सुनाए। ‘घनश्याम कमरेडसँग केही दिनअघि कुराकानी भएको थियो, हामी फेरि कुराकानी गर्छौं,’ उनले भने, ‘उहाँहरूका विचारहरू अलि स्थिर भएपछि केमा एकता हुने, केमा नहुने भन्नेबारे छलफल गरेर उहाँहरूलाई पनि यो एकतामा समेट्ने ढंगले हामी लाग्छौं।’
नेता खनालले भूसाललाई मार्क्सवाद-लेनिनवाद र नेपाली विशेषतासहितको समाजवादको पक्षमा आफ्ना समर्थकहरूलाई एकताबद्ध गर्न पनि सुझाव दिए।
प्रकाशित: ३० कार्तिक २०८२ २०:३२ आइतबार





