नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले चुनावमा पराजित भएपछि आफू आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा नदिने भएर फैलाइएका हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शर्माले आफू आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा बन्दको घोषणा गरेका सार्वजनिक भएको थियो। यसमा कुनै सत्यता नरहेको उनले सामाजिक संजालमार्फत प्रष्ट पारेका छन्।
चुनाव र आफू आबद्ध नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल काठमाडौंबीच कुनै सम्बन्ध नरहेको उनको भनाइ छ। उनले यी स्वास्थ्य संस्थाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै यसअघि दिँदै आएको छुटदेखि निःशुल्क उपचार सेवा कायम रहने स्पष्ट पारे।
‘चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौं भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु’, डा. शर्माले भनेका छन्।
बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका ती स्वास्थ्य संस्थासँग आबद्ध प्रतिनिधिसँग सम्पर्क गरी संस्थाको नियम र विधि अनुसार आउन उनले सबैसँग आग्रह गरेका छन्।
प्रकाशित: २६ फाल्गुन २०८२ १२:१८ मंगलबार





