नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ।
साथै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उक्त विषयमा स्पष्ट पार्दै १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरिसकेको जनाएको छ। यद्यपि उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाएका थिए।
कांग्रेस संस्थापन पक्षले एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्य सम्पन्न हुन नसकेको र अर्काेतिर आगामी फागुन २१ गते आमनिर्वाचन तोकिएकाले आमनिर्वाचनपछि पार्टीको महाधिवेशन गर्दा उचित हुने तर्क गर्दै आएको छ। संस्थापन पक्षले पार्टीको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशानुसार भन्दै विज्ञप्तिमार्फत पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
यो पनि पढ्नुहोस्
आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशनप्रकाशित: २७ पुस २०८२ ०७:०६ आइतबार





