मनोविज्ञान मानिसको यस्तो कुरा हो, जो सहजै पढ्न पनि सकिँदैन तर मनोविज्ञान नबुझेर गरिएको व्यवहारले त्यो मानिसलाई सन्तुष्ट राख्न सक्दैन। मनोविज्ञानप्रतिको लगातारको बेवास्ताले मानिसलाई पीडा दिन थाल्छ। पीडाको परिणाम के हुन्छ ? पीडकप्रति अविश्वास, उसका निर्णयको अस्वीकार, प्रतिवाद, विद्रोह अनि सम्बन्धविच्छेद। मनोविज्ञान व्यक्ति वा समूहको अस्तित्व र योगदानको अवसरसँग बढी जोडिएको हुन्छ, लाभहानिको कुरालाई मनोविज्ञानले प्राथमिकतामा राख्दैन। महान् दार्शनिक हेगेलको ‘स्वीकृतिको सिद्धान्त’अनुसार मानिस केवल भौतिक लाभ वा पदका लागि काम गर्दैन, उसलाई आफ्नो अस्तित्व र योगदानको पहिचान तथा स्वीकृति चाहिन्छ। अर्का विद्वान् फ्रान्ज फ्याननले पनि मनोविज्ञानको चर्चा गर्दा मानव चेतना र सामूहिक पहिचानबिचको गहिरो सम्बन्धलाई व्याख्या गरेका छन्। यस अर्थमा भन्नुपर्दा मनोविज्ञान केवल चेतनाको अध्ययन मात्र होइन, मूल्य, निष्ठा र आत्मसम्मानको दर्शन पनि हो।
कुनै पनि दल होस् वा अन्य संगठन, आफ्ना सदस्य तथा शुभेच्छुकको मनोविज्ञान बुझ्न नसक्दा त्यो संगठन क्रमशः कमजोर र धराशायी हुँदै जान्छ। अहिले नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको सबैभन्दा बलियो पहरेदार भनेर चिनिने पार्टी नेपाली कांग्रेस यस्तै संकटबाट गुज्रिरहेको छ। शुभेच्छुक, कार्यकर्ता र जिम्मेवारीमा रहेकाहरू गरी ३ थरी मनोविज्ञानका साथ नेपाली राजनीतिमा योगदान दिँदै आएको पार्टी अहिले छिन्नभिन्नको अवस्थामा छ। तिन थरी मनोविज्ञानको संयोजनबाट प्राप्त ऊर्जा र शक्ति नै कांग्रेस पार्टीको सबैभन्दा ठुलो पुँजी हो।
नेपाली कांग्रेसभित्रका आमकार्यकर्ता र शुभेच्छुकहरूको मनोविज्ञानलाई यही दार्शनिक कोणबाट हेर्नुपर्ने हो। कांग्रेसका लाखौं कार्यकर्ता कुनै लाभको पद, व्यक्तिगत स्वार्थ वा सुविधाका लागि पार्टीमा आबद्ध छैनन्। अहिले दार्शिनिक रूपमा ती मनोविज्ञानहरूको विश्लेशण गर्नुभन्दा नेतृत्वको प्रतिष्ठालाई केन्द्रमा राखेका कारण पार्टीले यो संकट झेल्न परिरहेको छ। कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरूको मनोविज्ञान निर्माणका मुख्य आधारहरूलाई केहीबेर चर्चा गरौं।
इतिहासप्रति गौरव गर्ने मनोविज्ञान (संस्थागत स्मृति): नेपाली कांग्रेसको स्थापना नै योगदानका लागि थियो। यो दल प्रतिस्पर्धा गर्नका लागि जन्मिएको थिएन। एउटा क्रान्तिमार्फत राजनीतिक अभ्यासलाई जनताको आँगनमा स्थापित गर्ने र राजनीति भनेको राणाहरूको दरबारभित्रको खेल होइन, यो त जनताको प्रत्यक्ष सरोकारको विषय हो भन्ने कुरा स्थापना गुर्न नै कांग्रेसको धेय थियो। यो मनोविज्ञान अहिलेको पुस्तामा समेत आकार लिएर स्थापित भएको छ। राणाशासन, पञ्चायत र निरंकुशताविरुद्धका आन्दोलनमा आफ्ना अग्रजहरूले दिएको सहादत, जेलनेल र त्यागको गौरवशाली इतिहास नै कार्यकर्ताको शक्ति हो कांग्रेस। यो स्मृति उनीहरूका लागि राष्ट्र निर्माण र लोकतन्त्र सुदृढीकरणको एउटा अजस्र पुँजी हो।
बिपीको विचार र मौलिक समाजवाद: बिपी कोइरालाले नेपालको माटो सुहाउँदो विकासको स्थानीय परिभाषा दिनुभयो। साना किसान, हलो जोत्ने किसानको अनुहार हेरेर योजना बनाउनुपर्छ भन्ने बिपीको लोकतान्त्रिक समाजवादप्रति कार्यकर्ताहरूको अगाध विश्वास छ। नेपालको सन्दर्भमा विकासको हरेक निर्णयले तल्लो तह र गाउँमा बस्ने जनतालाई प्रत्यक्ष सम्बोधन गर्न सक्नुपर्छ भन्ने बिपीको मान्यताप्रतिको अटुट विश्वासले अहिले पनि कांग्रेससँग शुभेच्छुकहरूको ठुलो सङ्ख्या आशाका साथ जोडिएको छ।
निःस्वार्थ योगदानको संकल्प: कुनै अपेक्षाबिना पनि यो मुलुकको लोकतन्त्रको रक्षा र सम्बर्धनका लागि कांग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने मनोविज्ञानका साथ कांग्रेसको आह्वानमा निष्ठा र संकल्पसाथ योगदान दिने मनोविज्ञान कार्यकर्ताको ठुलो पंक्तिमा छ।
विडम्बना, आज पार्टी नेतृत्वको तहमा कार्यकर्ताको यो आदर्शवादी र निष्ठावान् मनोविज्ञान पूरै उपेक्षित छ। वर्तमान कांग्रेसभित्र विचारको कुनै भिन्नता वा रूपान्तरणको नयाँ बहस छैन। मुख्य समस्या एकापसमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु र आफ्नो प्रतिष्ठालाई पार्टी हितभन्दा माथि राख्नु हो। विशेष महाधिवेशनपछिका घटनाक्रमलाई हेर्ने दृष्टिकोण, राजनीतिक सवालमा अदालत गुहार्ने प्रवृत्ति र संस्थापन तथा इतर पक्षबिचको भीषण गुटगत प्रतिस्पर्धाले पार्टीलाई विभाजनको डिलमा पु¥याएको छ।
नेतृत्व तहले निम्नलिखित कुरामा ध्यान पु¥याउने हो भने कांग्रेस भित्रको खास मनोविज्ञान बुझ्न मद्दत गर्नेछ र त्यो पार्टीको हितमा त हुने नै छ, सँगसँगै निःस्वार्थ लोकतन्त्रको पक्षमा योगदान दिन चाहनेहरूले पनि अवसर पाउने छन्। त्यो अवसरसँग लाभको कुनै सम्बन्ध रहनेछैन।
कार्यकर्ताको मनोविज्ञान पढ्नु: नेतृत्व केवल गणितीय शक्ति सन्तुलन र शक्ति कब्जामा मग्न छ तर तल्लो तहका कार्यकर्ताको भावना, चिन्ता र निःस्वार्थ भावलाई बुझ्न असमर्थ छ। मलाई केही चाहिएको छैन, लोकतन्त्रको पक्षमा र बिपीले सोचेको जस्तो हार्दिकतामा अडेको समाज स्थापनाको सन्दर्भमा योगदान दिन चाहन्छु भन्ने थुप्रै कार्यकर्ता र शुभेच्छुकको भावना नै कांग्रेसको पुँजी हो।
संस्थागत दायित्वको स्मृति: पार्टीको संस्थापन पक्ष र अन्य शीर्ष नेताहरूले आफूलाई सिंगो पार्टीको अभिभावक बनाउनुको साटो गुटको नायकमा सीमित गरेका छन्। यो मनोविज्ञान वा स्वार्थबाट माथि उठेर पार्टीले विगतमा प्रदर्शन गर्दै आएको राष्ट्रिय दायित्वको स्मरण गर्दै त्यो विरासतलाई निरन्तरता दिने सन्दर्भमा समकालीन भूमिकाको पहिचान र त्यो ढङ्गको योगदान दिनेतर्फ क्रियाशील हुन सक्नुपर्छ।
अदालत र कानुनी दाउपेचभन्दा माथि उठ्ने सोचको विकास: राजनीतिक समस्यालाई राजनीतिक र वैचारिक ढंगले हल गर्नुको साटो अदालत गुहाएर पार्टीलाई अनिर्णयको बन्दी बनाउने काम भइरहेको छ। यो कुराले पार्टीका तल्लो तहका शुभेच्छुक र कार्यकर्ता लज्जित छन्। ‘बिपी भएको भए ठोस निर्णय गर्नुहुन्थ्यो’ भन्दै निन्याउरो मुख लगाएका तमाम शुभेच्छुक र कार्यकर्ताले अभिभावकविहीन अवस्था महसुस गरिरहेका छन्।
हामी मिलेर जानुपर्छ भन्ने उनीहरूको चाहना अहिलेको सन्दर्भमा कांग्रेसका लागि राष्ट्रिय मनोविज्ञान बन्नुपर्ने हो तर नेतृत्वको अनावश्यक प्रतिस्पर्धा र अर्काको आलोचना गर्ने प्रवृत्तिले शुभेच्छुक र कार्यकर्ताको त्यो मनोविज्ञानको सम्मान गर्नुको साटो धज्जी उडाइरहेको छ।
इतिहास साक्षी छ, जब–जब दलका नेतृत्वले आफ्ना कार्यकर्ता र समर्थकहरूको निष्ठा, आदर्श र मौलिक मनोविज्ञानलाई बिर्सेर केवल व्यक्तिगत वा गुटगत स्वार्थमा लिप्त भए, तिनले ठुलो ऐतिहासिक दुर्घटना भोग्नुप¥यो। आत्मश्लाघा, पदप्रतिको आशक्ति, यथास्थितिवादी सोच, आफू नै सबै दृष्टिले सर्वेसर्वा भएको मनोगत विश्लेषणजस्ता प्रवृत्तिले नेतृत्वलाई आफ्ना शुभेच्छुक र कार्यकर्ताको मनोविज्ञान बुझ्नमा व्यवधान गरिरहेको हुन्छ। चीनका नेता सन यात सेनको पार्टी कुओमिन्ताङ अर्थात् चिनिया नेसनल पार्टी, भारतको समाजवादी पार्टी, इटलीको सोसलिस्ट पार्टी मात्र होइनन्, अहिलेको समयमा भारतीय राष्ट्रिय कांग्रेसको पनि त्यस्तै हालत हुँदै गरेको देखिन्छ।
पूर्वी युरोपका सामाजिक–लोकतान्त्रिक दलहरू पनि आफ्ना मौलिक सिद्धान्त र निष्ठावान् कार्यकर्तालाई छाडेर प्राविधिक राजनीति गर्न थालेपछि ती दलहरू जनता र कार्यकर्ता दुवैबाट विस्थापित हुँदै गए। नेपाली कांग्रेसको नेतृत्वले पनि यस्ता इतिहासबाट पाठ सिकेन र कार्यकर्ताको सामूहिक मनोविज्ञानलाई बेवास्ता गरिरह्यो भने ती मनोविज्ञान बोकेकाहरूले पीडाबोध गर्नेछन्। पीडाको परिणाम के हुन्छ ? पीडकप्रति अविश्वास, उसका निर्णयको अस्वीकार, प्रतिवाद, विद्रोह अनि सम्बन्धविच्छेद।
अझै पनि नेतृत्वको अहम्, व्यक्तिगत प्रतिष्ठाको लडाइँ र गुटगत संकीर्णताले यो विशाल जनपुँजीलाई तङ्भंग र निराश बनाउने कार्यलाई रोक्न सकिन्छ। नेतृत्वले आफ्नो दुर्गुण त्यागेर तत्काल कांग्रेसी मनोविज्ञानको कदर गर्नैपर्छ। एकले अर्काको अस्तित्व स्वीकार गर्दै वैचारिक धरातलमा फर्किएर र अदालतको ढोकाभन्दा राजनीतिक संवादको माध्यमबाट आन्तरिक संकट हल गर्नु नै कांग्रेस बचाउने एक मात्र विकल्प हो।
महान् दार्शनिक हेगेलको स्वीकृतिको सिद्धान्तले भन्छ– निष्ठावान् कार्यकर्ताले पद वा पैसा नमागे पनि नेतृत्वबाट आफ्नो योगदानको स्वीकृति र सम्मान खोजिरहेका हुन्छन्। जब नेतृत्वले त्यो आत्मसम्मान र योगदानलाई बेवास्ता गर्छ, तब कार्यकर्तामा निराशा र वितृष्णा पैदा हुन्छ। कांग्रेसका नेतापंक्तिले मनोविज्ञानको यो दार्शनिक पक्षलाई ध्यानमा राखेर सोच्न आवश्यक देखिन्छ।
प्रकाशित: १४ श्रावण २०८३ ०९:४० बिहीबार

