४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ।

यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौंस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। 

त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए।

पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ। विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए।

मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ। साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए।

यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ। महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले रु एक हजार शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ। विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ। बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन्।

यो पनि पढ्नुहोस्

नियमित महाधिवेशन तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य छैन : संस्थापन पक्ष

यो पनि पढ्नुहोस्

माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु कानुनी बाध्यता : महामन्त्रीद्वय

प्रकाशित: २७ पुस २०८२ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App