हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङतास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा २९ जना मतदाताले भोट खसालेका छन। मतदानका लागि गाउँमा रहेका सबैजसो मतदाता आएर भोट खसालेको त्यहाँ खटिएका मतदान अधिकृतले बताएका छन।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीमा गाउँका ३९ जना मतदाताको नाम थियो। तर ३ जनाको यसअघि नै मृत्यु भईसकेको छ। जम्मा ३६ जना मतदाता मध्ये २९ जना मतदाताले मतदानमा सहभागिता जनाएको मतदान अधिकृत राजेश गुप्ताले जानकारी दिए।
‘गाउँमा रहेका २९ जना मतदाताले आएर भोट खसालिसकेका छन। बाँकी ७ जना मतदाता चिसो छल्न तल झरेकोमा उनीहरु फर्केका थिएनन,’ उनले भने, ‘ती ७ जना आउने अवस्था छैन।’ मतदानका लागि आउने मतदाता गाउँमा नभएपनि बेलुकी पाँचबजेसम्म पर्खिनुपर्ने अवस्था रहेको उनले बताए।
‘हुन त अब भोट खसाल्न आउने मतदाता कोही छैनन। तर, पाँचबजेसम्म बन्द गर्न मिल्दैन,’ उनले भने। गुप्ताका अनुसार मध्यान्ह १२ बजेसम्म २९ जनाले भोट खसालिसकेका थिए। ‘गाउँमा रहेका मतदाताहरु बिहानै भोट खसाल्न आए। त्यसपछि गोठमा रहेका चारजनालाई पालो दिन एक समूह गोठ गएपछि गोठाला बसेका मतदाता बल्ल भोट खसाल्न आएका थिए। त्यसले गर्दा १२ बजे अघि नै भोट खसिसकेको थियो,’ उनले भने।
सदरमुकाम जोमसोमबाट ३९ किलोमिटर टाढाको यो गाउँ पुग्न जोमसोमबाट मोटरमा कम्तिमा ३ घण्टा लाग्छ। त्यही समय गुजार्दै निर्वाचनको टोली हिमाली आधारभूत विद्यालयमा निर्वाचन गराउन खटिएको थियो।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:४८ बिहीबार





