हिमाली जिल्ला ताप्लेजुङमा ५१.४५ प्रतिशत मत खसेको छ। शान्त रुपले निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालयका अनुसार ९० हजार ३ सय २७ मतमध्ये ४६ हजार ४ सय ७४ मत खसेको छ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार २५ हजार ३ सय ९९ पुरुष र २१ हजार ७५ महिला मतदाताले मतदान गरेका छन्। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा यहाँबाट ८८ हजार २ सय ८५ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ४८ हजार ५ सय ९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए।
यसैबीच मतदान सम्पन्न भएका र मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक रहेका मतदान स्थल तथा केन्द्रबाट मतपेटिका धमाधम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउन थालिएको । हेलिकोप्टरबाट ल्याउनुपर्ने ओलाङचुङगोला, घुन्सा, याङमा र ग्याब्ला मतदान केन्द्रको मतपेटिका भने शुक्रवार बिहान मात्र ल्याइने प्रजिअ सेढाइँले बताए
अन्य मतदान केन्द्रमा मतपेटिका भने शुक्रवार बिहान ३ः०० बजेसम्ममा फुङलिङ ल्याई पु¥याइने कार्ययोजना रहेको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले बताए।
सबै ठाँउको मतपेटिका आएपछि सर्वदलिय बैठक बस्ने र मतगणना सुरु गर्ने तयारी रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली सहितका दुईवटा मतगणना स्थल तयार भएको छ । मतगणना सुरु भएको १८ घण्टा भित्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरी समानुपातिकतर्फको मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०८२ १९:०० बिहीबार





