२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

कार्यकर्ताको परीक्षा सडकमा हुन्छ: विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अब कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताएका छन्। लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताए।

उनका अनुसार प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनःस्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको घडी हो। ‘अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ। जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिन सक्नुपर्छ,’ पौडेलले भने।

उपाध्यक्ष पौडेलले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनले केवल एमालेको मात्र नभई सिंगो राष्ट्रको भविष्य निर्धारण गर्ने बताए। उनले यो महाधिवेशनलाई समृद्धि र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे। ‘हामीले देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा लिएको छौं,’ उनले जोड दिए।

उनले दशौं महाधिवेशनले तोकेको मापदण्ड र पद्धतिलाई कायम राख्दै प्रतिनिधि चयन गर्नुपर्नेमा पनि जोड दिए। पौडेलले पार्टीभित्र शुद्धीकरण र संगठन सुदृढीकरणको आवश्यकता औंल्याउँदै अनुशासन, एकता र विचारमा दृढता देखाउन आग्रह गरे।

हाल एमाले विभिन्न पक्षबाट प्रहारको निशाना बनेको उल्लेख गर्दै पौडेलले त्यसलाई परास्त गरेर पार्टीलाई अझ सबल र जनमुखी बनाउन सबै स्तरका नेताकार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘पार्टीमाथि भएका हरेक प्रहारलाई प्रतिरोध गर्दै हामीले जनताको भरोसा पुनःस्थापित गर्नुपर्छ,’ उनले भने।

बैठकमा उनले आगामी राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण र ११ औं महाधिवेशन तयारीका विषयमा समेत निर्देशन दिएका थिए

 

 

प्रकाशित: २० कार्तिक २०८२ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App