मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका छन्। उनले मधेस भवनमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट शपथ लिएका हुन्। कांग्रेस संसदीय दलका नेता यादव सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा शुक्रबारे मुख्यमन्त्री नियुक्त भएका थिए।
संविधानको धारा १६८ को ३ बमोजिम ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
यादव नेतृत्वको सरकारमा उनलाई समर्थन गरेका सबै दल सहभागी हुने सहमति भएको छ। तर मन्त्रालय र मन्त्रीको नाम टुंगो नलाग्दा जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएका छैनन्। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने पार्टीको निर्णय भएको बताए।
यसैबिच मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।
आइतबार बसेको सत्तापक्षीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए। लोसपा संसदीय दलका नेता जैनुल अन्सारीका अनुसार मन्त्रालयको विषय अझै नटुंगिएकाले तत्काल सरकारमा सहभागी नभएको बताए।
सात दलको बैठका जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ। यस्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को भागमा पनि मधेस सरकारमा तीन मन्त्रालय परेको बताइएको छ। तर मन्त्रालय अझै टुंगो नलागेको बताइएको छ।
मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले दुई मन्त्राल लिने सहमति भएको छ। लोसपाले पनि दुई मन्त्रालय पाउने भएको छ। जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने सहमति बनेको छ। सो पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव आइतबार नै अर्थमन्त्रीको शपथ ग्रहण गरिसकेका छन्। नेकपा एसबाट कनिश पटेल र कांग्रेसबाट जंगीलाल यादवले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्। मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा बज्जिका भाषामा शपथ लिए।
यसैबिच मन्त्रिपरिषद्को पहिलो बैठकले अघिल्लो सरकारले गरेका सबै निर्णय बदर गरेको छ। बैठकले पूर्ववर्ती सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद्बाट भएगरेका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो। कात्तिक २३ देखि मंसिर २१ सम्म सरोजकुमार नेतृत्वको मन्त्रिपरिषद्ले गरेका सबै सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्नेलगायत निर्णय बदर गर्ने निर्णय कृष्णप्रसाद यादव नेतृत्वको सरकारले गरेको हो।
मुख्य न्यायाधिवक्ता बर्खास्त
मधेस प्रदेशका मुख्य न्यायाधिवक्तालाई बर्खास्त गरिएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्। शुक्रबार सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि मुख्य न्यायाधिवक्तालाई पदमुक्त गर्न सिफारिस गरेका थिए।
महतो जनमत पार्टी नेतृत्वको सतिशकुमार सिंहको सरकारमा जनमतको कोटाबाट मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेससहित सात दलले सर्वोच्च अदालतमा रिट दिएपछि मधेस सरकारका तर्फबाट बहस गरेका थिए।
संविधानसभा सदस्यदेखि मुख्यमन्त्रीसम्मको यात्रा
रौतहटको गढीमाई नगरपालिका–८ स्थित बरियारपुरमा २०२४ भदौ ९ गते जन्मिएका कृष्णप्रसाद यादवको पारिवारिक पृष्ठभूमि राजनीतिक हो। उनका बुवा रामचन्द्र यादवले २०५४ सालमा कांग्रेसबाट बरियारपुर गाविस अध्यक्षमा चुनाव जितेका थिए। २०४६ सालको आन्दोलनपछि कांग्रेसको सक्रिय राजनीतिमा आएका कृष्णप्रसाद यादव बरियारपुर गाउँका सम्पन्न परिवारिक पृष्ठभूमिका व्यक्ति हुन्।
कृष्णप्रसाद यादव २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। २०६७ सालदेखि लगातार दुई पटक कांग्रेस पार्टीको रौतहट जिल्लाका सभापति भइसकेका उनी मधेस प्रदेश कांग्रेस सभापति हुन्। २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भए। उनी मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता हुन्। प्रदेशसभामा जसपा नेपाल नेतृत्वको सरकार हुँदा उनी भौतिकमन्त्रीसमेत भइसकेका छन्।
प्रकाशित: २२ मंसिर २०८२ ०७:५४ सोमबार





