२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभाएथ्यो आगाे

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देशभरका तमाम भौतिक संरचनामा आगजनी गरियो। राजधानीमा राज्यका प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय जलाइए। अर्थात् प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद् भवनमा आगजनी भयो। 

२४ गते दिउँसो नै आगजनी हुँदा राज्यका सुरक्षा निकाय र दमकल राखेर बसेका जिम्मेवार निकायहरू मूकदर्शक बनिरहे। सबैजसो निकाय जलेर खरानी भइसकेपछि मध्यरातपछि मात्रै दमकल परिचालन गरिए, नेपाली सेनाले सुरक्षाको कमान हातमा लियो। 

त्यसपछि पनि थप दुई दिन सर्वोच्च अदालतमा लागेको आगो ननिभेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले खुलासा गरेका छन्। पत्रकार टीकाराम यात्रीसँग एक अन्तर्वार्तामा कुराकानी गर्दै प्रधानन्यायाधीश राउतले भदौ २६ गते आफू पुग्दा सर्वोच्चमा आगो लागिरहेको बताएका छन्। 

‘२६ गते हामी आयौँ, म २६ गते आउँदा पनि आगो लागिराखेको थियो। त्यसको गन्ध त आजसम्म पनि छ,’ अन्तर्वार्तामा प्रधानन्यायाधीश राउतले भनेका छन्, ‘त्यतिखेर म आउँदा रापै थियो, बलिराखेको थियो।’ 

त्यही दिन प्रधानन्यायाधीश राउतले जलिरहेकै भवनको कम जलेको कोठामा ‘फुल कोर्ट’ बैठक नै बसालेका थिए। ‘बैठक बस्ने बेला नै मैले २६ गतेका दिन ललितपुरको मेयर साब(चिरिबाबु महर्जन)लाई भनेर दमकल मागेर उहाँले पठाइ पनि दिनुभयो,’ प्रधानन्यायाधीश राउतले अगाडि भनेका छन्। 

बलेको निभाउन पनि अप्ठेरो भएको उनले बताएका छन्। ‘भवन मात्रै भएन, त्यहाँ मिसिल बलिराखेको छ, त्यसमा पानीले निभाउँदा मिसिल गइहाल्छ फेरि। आगोले पनि मिसिल जाने, पानीले पनि मिसिल जाने,’ उनले भनेका छन्। त्यसपछि सबैजसो कर्मचारी पनि आएर अहोरात्र लाग्दा सजिलो भएको पनि प्रधानन्यायाधीश राउतको भनाई छ। 

२५ गते नै कार्यालय आउन चाहन्थेँ’ 

प्रधानन्यायाधीश राउतले भदौ २४ गतेको घटनापछि दोस्रो दिन(२५ गते) नै सर्वोच्च अदालत आउन चाहेको अन्तर्वार्तामा भनेका छन्। ‘देशभरका न्यायाधीशको मनोबल खस्केको थियो। त्यसलाई थप खस्किन नदिनका लागि मैले यहीबाट केही गर्नुपर्ने थियो,’ उनले भनेका छन्, ‘त्यतिखेर सरकार बनिसकेको छैन। प्रहरीहरूको सरेन्डर गराइसकेको छ। सेनाबाहेक अरू कोही पनि थिएन। त्यसैले सेनाबाहेक अरूसँग हारगुहार गर्न सक्ने मेरो अवस्था थिएन।’ 

सेनासँग कुरा गर्दा सुरक्षा दिन सक्ने जस्तो कुरा नगरेको पनि उनले बताएका छन्। ‘२५ गते म यहाँ आउन खोजेँ, सेनाले अहिल्यै त्यहाँ तपाईँ नजाँदा ठिक हुन्छ भन्ने कुरा भयो। सेनाले यतातिर आउनलाई सुरक्षित नहुने आशय प्रकट गरिसकेपछाडि मैले बलमिचाइँ गर्न पनि उपयुक्त हुन्छ जस्तो मलाई लागेन,’ प्रधानन्यायाधीश राउतले भनेका छन्। 

त्यसपछि आफूले २५ गते नै ‘भोलि जसरी पनि म मेरो अदालत जान्छु’ भन्ने कुरा राखिसकेको उनले बताएका छन्। ‘मैले जसरी पनि केही गर्नुपर्छ। यो त नागरिक अधिकारका लागि जन्मेको संस्था हो नि त। यस्तो जिउ, धन, सम्पत्तिको हक र सुरक्षाको प्रत्याभूति लागि जन्मेको संस्था हो नि,’ उनले अगाडि भनेका छन्, ‘त्यस्तो संस्थाको प्रमुखले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार हुनुप¥यो नि त।’  

अन्तर्वार्तामा प्रधानन्यायाधीश राउतले विषम परिस्थितिमा न्यायको दियो निभ्न दिनुहुन्न भन्ने मान्यता जसरी पनि स्थापित गराउने उनले विश्वास दिलाउने प्रतिबद्धता समेत जनाएका छन्। 

प्रकाशित: ४ आश्विन २०८२ १६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App