नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा एक खालको बुख्याचा प्रवेश गरेको बताएका छन् । च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा ओलीले वर्तमान सरकार आतंक र त्रासको जगमा संविधान विपरीत भएको बताए ।
ओलीले भने, ‘सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको छ । जनताबाट निर्वाचितहरु सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरु सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत् हुनै सक्दैन ।’ ओलीले यो सरकार संविधान विपरीत रहेको बताउँदै विघठित संसद् पुनःस्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्न सक्ने पार्टी एमाले मात्रै भएको दावी गरे ।
ओलीले पार्टीको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन् । सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोचको विकास भएको छ त्यो गलत भएको उनको तर्क छ ।
अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने उनले बताएका छन् ।
‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन’, अध्यक्ष ओलीले भने, ‘चुना लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टिकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’
प्रकाशित: १४ मंसिर २०८२ १७:१४ आइतबार





