उदयपुरमा समयमै उपचार नपाएर एक सात महिनाकी गर्भवती महिलाको मृत्यु भएको छ।
छारे (मिर्गी) रोगले बेहोस भएकी उनलाई तत्काल अस्पताल लैजानुको सट्टा झारफुकमा अल्झिँदा ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार त्रियुगा नगरपालिका-९, गैरुनकी ३० वर्षीया तारा गिरीको आइतबार साँझ निधन भएको हो।
प्रहरीका सूचना अधिकारी डीएसपी केदारमान दोङले गिरी आइतबार साँझ करिब ६:४० बजे छारे रोगका कारण बेहोस भएर ढलेको जानकारी दिए।
‘तत्काल अस्पताल पुर्याउनुको सट्टा परिवारका सदस्यले धामी बोलाएर झारफुक गर्न थालेका थिए,’ डीएसपी दोङले भने, ‘लामो समयसम्म होस नफर्केपछि राति अस्पताल लगियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।’
मृतक गिरीका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्। घरमा ८ वर्षीय छोरा र वृद्ध सासू मात्र रहेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी दोङले बताए।
प्रकाशित: ३० असार २०८२ १५:५६ सोमबार





