नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका छन्।
कांग्रेसको बर्दिया, क्षेत्र नम्बर–२ कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले कांग्रेसले चुनावको तयारी थालेको तर शान्तिसुरक्षाको आवश्यक व्यवस्था हुन नसकेको बताए। उनले निर्वाचन सुनिश्चित गर्न सरकारले सुरक्षा लगायतका प्रबन्ध तत्काल गर्नुपर्नेमा जोड दिए।
सहमहामन्त्री राठौरले केन्द्रीय समितिको निर्णय अनुरुप पार्टीले महाधिवेशनको तयारी थालेको बताउँदै महाधिवेशनले आमनिर्वाचनमा पार्टीलाई कसरी सघाउ पुर्याउँछ भन्नेमा सबै कांग्रेसजन गम्भीर र जिम्मेवार हुनुपर्ने बताए।
सहमहामन्त्री राठौरले महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउन पार्टीका सबै तहका नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताए।
उनले पार्टीलाई पुनर्ताजगी गराइ संगठनलाई चलायमान बनाउने र निर्वाचनबाट पार्टीलाई थप बलियो बनाउन महाधिवेशन कसरी सहयोगी हुन्छ भन्नेबारे सबै नेता कार्यकर्ताले सोच्नुपर्ने बताए।
प्रकाशित: १९ मंसिर २०८२ १९:४८ शुक्रबार





