नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सक्रियताको प्रसङ्ग उठेको छ। शनिबार पोलिटब्युरो बैठकमा महेश बस्नेतले कोइरालाको सक्रियताको प्रसङ्ग उठाएका हुन्।
‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने,’ बस्नेतले बैठकमा भनेको कुरा फेसबुकमा लेखेका छन्, ‘चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्त्व सल्बलिएका छन्।’
पूर्व राष्ट्रपति भण्डारीलाई इङ्गित गर्दै त्यस्ता तत्त्वलाई पार्टीभित्र घुस्न दिन नहुने बस्नेतले भनेका छन्। ‘अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ,’ उनले भने।
पछिल्ला केही दिनयता कांग्रेस नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व राष्ट्रपति भण्डारीलाई भेटेका थिए। त्यो भेटलाई स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कोइरालाको नेतृत्वमा वैकल्पिक सत्ता निर्माणको प्रयास भइरहेको भन्दै प्रचारबाजी गरिरहेका छन्।
प्रकाशित: ३ श्रावण २०८२ १६:४७ शनिबार





