माइतीघर मण्डलामा जारी उखु किसानको धर्नामा सत्तारूढ दलकै सांसद पनि ऐक्यबद्धता जनाउन पुगेका छन्। बुधबार पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सांसद एनपी साउद माइतीघर पुगेर उखु किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाएका हुन्।
‘नेपाल कृषिप्रधान देश भए पनि उखु किसानहरू निरन्तर अन्यायमा परिरहेका छन्,’ धर्नामा पुगेका सांसद साउदले भने, ‘हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाउँदा किसान फेरि आन्दोलित हुनुपरेको छ। विगतमा भएका सम्झौतापछि पनि अझै ठुलो रकम भुक्तानी गर्न बाँकी रहनु दुखद छ।’
उनले सरकारले घटाएको अनुदान रकम पुरानै अवस्थामा पु¥याएर किसानलाई उपलब्ध गराउनुपर्ने बताए। ‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले भने।
यसअघि मंगलबार विपक्षी दलका नेताहरूले माइतीघर पुगेर किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए। जसमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ धर्नामा पुगेका थिए।
प्रकाशित: ११ भाद्र २०८२ १७:१५ बुधबार





