फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले चार वटा निर्वाचन क्षेत्रका २३ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। चार वटा निर्वाचन क्षेत्रका लागि ८ जना प्रत्यक्ष र १५ जना समानुपातिकतर्फका उम्मेदवार सिफारिस भएका छन्।
जेनजी आन्दोलनपछि परिवर्तित अवस्था र जनअपेक्षाअनुसार युवा र दलित र महिलालाई प्राथमिकतामा राखेर उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस सिरहा जिल्ला सचिव शैलेन्द्र यादवले जानकारी दिएका छन्।
निर्वाचन क्षेत्र–१ मा केन्द्रीय सदस्य पदम नारायण चौधरी र लहान नगर सभापति सञ्जयकुमार यादवलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको हो। परम्परागत उम्मेदवार सँगै जेनजी आन्दोलनको मर्म र भावना तथा जनचाहनाअनुसार युवा उम्मेदवारको रुपमा यादवलाई सिफारिस गरिएको सचिव शैलेन्द्र यादवले जानकारी दिएका छन्। अहिलेको बदलिँदो परिस्थितिअनुसार युवाप्रतिको चाहना बढ्दो भएकोले सञ्जयलाई सिफारिस गरिएको हो।
यस्तै, नेपाल महिला संघकी केन्द्रीय सभापति उषा राउत, नेविसंघ पूर्व केन्द्रीय सह–महामन्त्री प्रमेश्वर साह र जिल्ला सदस्य शर्मिला पोखरेलको नाम समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरिएको छ। साह र पोखरेललाई युवापुस्ताको हिसाबले सिफारिस गरिएको बताइएको छ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवको एकल नाम सिफारिस भएको छ। समानुपातिकतर्फ कांग्रेस केन्द्रीय सदस्य तथा अस्ट्रेलियाकी राजदूत चित्रलेखा यादवको नाम सिफारिस भएको हो।
क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ जिल्ला सहसचिव रामबाबु यादव, पूर्वप्राध्यापक मधुसूदन यादवको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ मधेस प्रदेशका कांग्रेस महामन्त्री उपेन्द्र यादव, कौशल मण्डल, अरुण सदाय र कुसुम कुमारी यादवको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाँड, संविधानसभा सदस्य डा. गणेशकुमार मण्डल र हज समितिका केन्द्रीय अध्यक्ष मोहम्मद मुख्तार अहमदको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ अरुणकुमार सिंह, रमेश न्यौपाने, रामएकवाल यादव, रामकृष्ण पोखरेल, नागेश्वर भुडेर, अरहुलिया मुखियाको नाम सिफारिस भएको छ।
यसैगरी, राष्ट्रिय सभा सदस्यका लागि सिरहा क्षेत्र नम्बर १ बाट सूर्य नारायण यादव र वसन्ती सदायको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य अमियकुमार यादवको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर ३ बाट मोहम्मद इजहारुल हकको नाम सिफारिस गरिएको छ।
कांग्रेस जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार नेपाली कांग्रेसको विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूलाई क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारहरूलाई व्यवस्थापन गरेर प्रदेश र केन्द्रीय कार्यसमितिलाई पठाइएको छ।
दुई निर्वाचन क्षेत्रमा विवाद
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिसमा क्षेत्र–१ र ३ मा विवाद आएको छ। क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले प्रत्यक्षमा रामसुन्दर चौधरी र पद्मनाराण चौधरीको नाम सिफारिस गरेको जनाएको छ। क्षेत्रीय समितिले सिफारिस गरेको उम्मेदवारको नाम जिल्लाले हटाइदिएकोमा असन्तोष छ। जिल्ला कार्यसमितिले रामसुन्दरको नाम हटाएको हो।
यसैगरी, क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिले प्रत्यक्षमा पूर्वकेन्द्रीय कोषाध्यक्ष पूर्वमन्त्री सीतादेवी यादव र समानुपातिकमा अमर रेग्मी, जीवछ गुप्ता र जगतारैन कामतीको नाम सिफारिस गरेको थियो। तर, जिल्ला कार्यसमितिको सिफारिसमा यी कुनै उम्मेदवारहरूको नाम उल्लेख छैन।
यस विषयमा जिल्ला कार्यसमिति सचिव शैलेन्द्र यादवले भने,‘क्षेत्रीय समितिबाट जिल्ला कार्यसमितिलाई सिफारिस पत्र नै पाएको छैन। उम्मेदवार सिफारिसका लागि बसेको जिल्ला कार्यसमितिको बैठकमा पनि क्षेत्रीय सभापतिलगायत उपस्थित नभएको यादवको भनाई छ। क्षेत्रीय समितिबाट सिफारिस नआएपछि जिल्ला कार्यसमितिले योग्यता पुगेका उम्मेदवारको नाम सिफारिस गरेर पठाएको हो, उनले भनेका छन्।
क्षेत्र नम्बर ३ का सभापति सञ्जय प्रकाश यादवका अनुसार आफूले क्षेत्रबाट सिफारिस भएको उम्मेदवारहरूको नाम जिल्ला सचिव शैलेन्द्रलाई टिपाएको र प्रदेश, केन्द्रलाई इमेल गरेको बताएका छन्।
जिल्ला अधिवेशनको किचलो उम्मेदवार सिफारिसमा प्रकट
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनको निर्वाचनबाट रामचन्द्र यादव जिल्ला सभापति निर्वाचित भए। रामचन्द्र यादवसँग जिल्ला सभापतिमा रामसुन्दर चौधरी प्रतिस्पर्धामा थिए। त्यो बेला चौधरीले जिल्ला कार्यसमितिको निर्वाचनबाट बाहिरिए। उनले धाँधली भएको आरोप लगाउँदै निर्वाचन बहिष्कार गरेका थिए। निर्वाचन बहिष्कार गरेका उनले समानान्तर जिल्ला कार्यसमिति नै गठन गरेको घोषणा गरेका थिए। त्यस बेलादेखि नै चौधरी पक्षले निर्वाचित जिल्ला कार्यसमितिलाई नमान्ने अडानमा कायम छ।
चौधरीले क्षेत्रीय समितिले सिफारिसको गरेको आफ्नो नाम जिल्ला कार्यसमितिले हटाएर मंसिर १५ गते केन्द्रले पठाएको उम्मेदवार सिफारिस सम्बन्धीको परिपत्रको उल्लघंन गरेको आरोप लगाएका छन्।
प्रकाशित: २९ मंसिर २०८२ १३:४२ सोमबार





