नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११ औँ महाधिवेशनमा प्रतिस्पर्धा नगरी केपी ओली कै नेतृत्वमा पार्टीलाई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले यो महाधिवेशनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने दावी पनि गरे ।
पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर २७ गते हुने उद्घाटन समारोहमा सहभागी हुने अपिल गरे।
पोखरेलले सम्बोधनका क्रममा भने, ‘भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोहको आयोजना गरेका छौँ। त्यो उद्घाटन समारोहलाई प्रतिगमनविरुद्धको जनपरिचालनको रूपमा र महाधिवेशनको उत्सवको रूपमा हामीले प्रस्तुत गर्छौँ।’
उनले एमालेबाट मात्रै देश विकासको योजना बन्नसक्ने दाबी गरे। उनले भने, ‘पार्टी अध्यक्ष ओलीमाथि चौतर्फी प्रहार भइरहेको छ। यो उहाँमाथि मात्रै होइन, एमाले, एमालेले अघि सारेको नीति र नेपाललाई कमजोर बनाउन गरिएको आक्रमणको रूपमा हामीले लिनुपर्छ।’
राष्ट्रिय राजनीतिक एमाले र ओलीकै वरिपरि घुमिरहेको जिकिर गर्दै आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष हुने बताए।
उनले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका वरिष्ठउपाध्यक्ष ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उनले भने, ‘अहिले पार्टीमा प्रतिस्पर्धा होइन, एकताको खाँचो छ, एकताबद्ध ओलीको नेतृत्वमा अघि बढौँ।’
प्रकाशित: २० मंसिर २०८२ १५:३८ शनिबार





