१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जनातालाई रोजगारी र उद्यमसँग जोडेर लैजाने सापकोटाको योजना

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार भागिरथ सापकोटाले नवलपुरको क्षेत्रको विकासका लागि विकास प्राधिकरण बनाएर जानुपर्ने बताएका छन्। बिहीबार (आज) नवलपुरको गैँडाकोटमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले जिल्लाको विकास प्राधिकरण बनाएर। जनातालाई रोजगारी र उद्यमसँग जोडेर लैजानुपर्ने धारणा राखेका हुन्।  

‘यहाँ सुकुम्बासीको समस्या छ। नदी कटानको उत्तिकै समस्या छ। यहाँको कृषि, पर्यटनलाई व्यवसायीकरण गरेर लैजाने र यहाँका मानिसलाई रोजगारीसँग जोडेर उद्यम बनाउने बाटो तर्फ अगाडि बढ्नुपर्छ,’ सापकोटाले भने, ‘यस जिल्लाको विकास गर्न विकास प्राधिकरण बनाएर जानुपर्दछ।’ रोजगार र उद्यमलाई सँगसँगै जोडेर जानुपर्ने बताउँदै उनले एक गाउँ दश उद्यम बनाउनुपर्ने धारणा राखे। 

उनले आम्दानीको स्रोत बढाउने र रोजगारमा जोडेर उद्यममा ल्याउने पनि बताए। उनले सार्वजनिक शिक्षा, स्वास्थ्यलाई पनि बलियो बनाउदै लैजाने समेत बताए। ‘समाजिक रुपान्तरणका लागि स्वास्थ्य, शिक्षा जस्ता विषयलाई बलियो बनाउनुपर्छ,’ उनले भने।

एमाले उम्मेदवार सापकोटाले कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधिलाई मूख्य अर्थतन्त्रको रूपमा बलियो बनाउँदै लैजाने बताए। होमस्टे बनाउन सकिने, थारु, मगर संस्कृतिको होम स्टे बनाएर विकास गर्न सकिने बताए। सुन्तला, अदुवा, दालचिनीको उत्पादनलाई बढाउन पनि लागि पर्ने पनि बताए। उनले कृषिको पकेट एरियाको रूपमा विकास गर्ने योजना पनि सुनाए। उनले ऊर्जामा गण्डकीको पानी सिँचाइ र ऊर्जामा प्रयोग गर्नेगरी दीर्घकालीन योजनाको रूपमा अघि बढाउने पनि उनको योजना रहेको बताए। आफ्नो क्षेत्रमा स्मार्ट आइटी पार्क बनाउने योजना पनि सुनाउँदै, स्मार्ट सिटीको विकास गरिने बताए।

नवलपुर १ मा २०६४ सालयताका निर्वाचनमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले जित्दै आएको क्षेत्र समेत हो। यस पटक कोइराला चुनावी दौडबाट बाहिरिएका छन्। सापकोटाले अहिले नवलपुर १ मा एमालेसँग अन्य दलको प्रतिस्पर्धा नहुने दाबी समेत गरे। ‘मेरो एजेण्डाका हिसाबले मेरा लागि कोही पनि प्रतिस्पर्धी हुनुहुन्न,’ उनले थपे, ‘अन्य दलहरू दोस्रो पदका लागि प्रतिस्प्रर्धा गर्ने हुन्।’ घरदैलोको अभियानको क्रममा जनताले मायाँ गरेको भन्दै निर्वाचन जितेर गएमा एक एक वर्षमा पब्लिक अडिटमा आउने बाचा समेत गरे।  

सापकोटा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष हुन्। लामो समय एमालेको राजनीतिमा रहेका सापकोटा अर्थ राजनीतिका प्रखर व्याख्यता पनि हुन्। स्थानीय उम्मेदवार भएकाले पनि आफूलाई जनताले माया गर्ने दाबी उनको छ। राजनीतिलाई पेसा र व्यवसायसँग जोड्न वकालत गरिरहेका सापाकोटालाई उद्योगीहरूले सकारात्मक ठानेको उनको अनुभव छ।

प्रकाशित: २९ माघ २०८२ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App