राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको धारणा छ।
रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्य तथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।
संसदीय दलले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति आफू सदैव प्रतिबद्ध रहने पनि स्पष्ट पारेको छ।
विज्ञप्ति हेर्नुस्

प्रकाशित: ९ श्रावण २०८३ १०:०७ शनिबार





