प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेसँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
यो बीचमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन चितवनमा हुँदैछ । सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि कुल आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेश गत २८ वैशाखमा अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका थिए।
शुक्रबारको बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत भएका छन्।
यसअघि सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलगायत अन्य अध्यादेश पनि जारी गरेको थियो।
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत भएसँगै अब ती विषयमा प्रतिस्थापन विधेयक ल्याएर नियमित कानुनी प्रक्रियामा लैजाने बाटो खुलेको छ। संसद्को आगामी बैठकमा बाँकी अध्यादेश र विधेयकका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ५ असार २०८३ १५:२९ शुक्रबार





