प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्धारा संचालित हस्ताक्षर अभियानप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै उक्त अभियानलाई ‘व्यवस्था विरोधी र कर्मकाण्डी’ को संज्ञा दिएका छन्।
मंगलबार कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कसैलाई प्रतिशोध नसाध्ने तर अपराध गर्नेलाई नछाड्ने स्पष्ट पारे।
रास्वपाको हस्ताक्षर अभियानलाई ‘तथाकथित’ भन्दै ओलीले भने, ‘मलाई डर लाग्या छ, ३ करोडभन्दा माथि हस्ताक्षर गयो भने... , म उहाँहरूलाई अलिकति सचेत गराउन चाहन्छु, हस्ताक्षर अभियान ३ करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला।’
उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाएको स्मरण गराउँदै वर्तमान सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि बनेको दाबी गरे।
‘सरकार अदालत होइन, अदालतले थुन्छ, छोड्छ, सरकारको हातमा हुँदैन,’ उनले भने, ‘तर ठगी गरेपछि त अदालतले थुन्छ, हामी के गर्ने ? लुकीचोरी पत्ता लागेका दिन जेल जान्छ।’
प्रकाशित: १३ श्रावण २०८२ १८:१९ मंगलबार





