नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि सहभागी ६ वटा फ्रेन्चाइज टोलीले आफ्ना मार्की खेलाडी सार्वजनिक गरेका छन्। गण्डकी प्रदेशका चर्चित स्पाइकर हिमाल सुनारीसहित ६ राष्ट्रिय खेलाडी विभिन्न टोलीमा मार्की खेलाडीका रूपमा अनुबन्ध भएका हुन्।
केडिया ग्रुपको आयोजनामा ‘उचाइको नयाँ उडान’ नारासहित पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिगका लागि शुक्रबार टोलीहरूले आफ्नो प्रमुख खेलाडी घोषणा गरेका हुन्।
अन्नपूर्ण स्पाइकर किङ्सले गण्डकीका चर्चित स्पाइकर हिमाल सुनारीलाई मार्की खेलाडी बनाएको छ। यस्तै, सगरमाथा स्म्यासर्सले हरिहजुर थापा, मधेश वारियर्सले रविन नगरकोटी, काठमाडौं रेड्सले सुनिल बोहरा, कर्णाली शिवराजले पहल गहतराज तथा खप्तड फाल्कन्सले धिरोज बस्नेतलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका छन्।
यसअघि एनभिएलमा सहभागी ६ वटा फ्रेन्चाइज टोली, टोलीका मालिक, लोगो, नारा, मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षक सार्वजनिक गरिसकिएको छ। प्रतियोगिताका लागि आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर तथा कान्तिपुर टेलिभिजन प्रसारण साझेदारका रूपमा आबद्ध भइसकेका छन्।
नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १२ देखि २० गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ।

प्रकाशित: १ श्रावण २०८३ २०:४० शुक्रबार





