२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिपक्षको कुरा नसुने सरकार असफल हुन्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार सफल हुने वा असफल हुने कुरा प्रतिपक्षको आवाजलाई उसले कति गम्भीरतापूर्वक सुन्छ भन्नेमा निर्भर रहने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साम्पाङले विगतको राजनीतिक अभ्यास र परम्पराले पनि प्रतिपक्षको कुरा नसुन्दा सरकार सञ्चालनमा समस्या देखिएको पुष्टि गरेको बताए । विगतको त्यस्तो इतिहास नदोहोरियोस् भन्ने आफूहरूको चाहना रहेको उनको भनाइ थियो ।

जनताले आफ्ना समस्या र आवाज संसद्मा उठाउन आफूहरूलाई पठाएको उल्लेख गर्दै साम्पाङले सांसदहरूले सदनमा उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र आवश्यक निर्णय तथा कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले सरकारसँग आफ्नो आधिकारिक धारणा स्पष्ट रूपमा सार्वजनिक गर्नसमेत माग गरे । ‘हामी चाहन्छौं सरकार बोलोस्, के हो त सरकारको आधिकारिक धारणा ?’ उनले प्रश्न गरे ।

ग्यास आपूर्तिमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै साम्पाङले सर्वसाधारणले निःशुल्क ग्यास प्रयोग नगर्ने, कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सहितको रकम तिरेर ग्यास खरिद गर्ने गरेको बताए । ‘जनताले ट्याक्स–भ्याटसहित ग्यास किनेर चलाउँछन्, त्यो पैसा चाहिँ कसले लादोरहेछ ?’ उनले प्रश्न गरे ।

ग्यासको आपूर्ति शृङ्खला किन अवरुद्ध भएको हो भन्ने स्पष्ट पार्न माग गर्दै उनले आपूर्तिकर्तालाई भुक्तानी किन नदिइएको भन्दै सरकारसँग जवाफ मागे । ‘बीचमा त्यो पैसा कसैले चलाइदिन्छ कि क्या हो ?’ भन्दै उनले ग्यास आपूर्तिमा देखिएको समस्याको वास्तविक कारण सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित: २२ श्रावण २०८३ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App