जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ। पुलचोक-गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो।
ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिदचोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिए। यसअघि विभिन्न छ स्थानमा पोल राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो।
फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। संघीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको हो। सवारी आवागमन बढी हुने ठाउँमा ‘ट्राफिक लाइट’ राखिएको हो। सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार गत आर्थिक वर्षमा हुनुपर्ने काम निर्माण कम्पनीको ढिला सुस्तीप्का कारण समय लागेको हो। उनले भने, 'अब बत्ती राख्ने काम सुरु भएको छ। चाँडै सम्पन्न हुन्छ।' जेनजी प्रदर्शनका कारणसमेत केही समय ढिला भएको उनले बताए। बीचमा ठेकेदार कम्पनीले बत्ती ल्याउन ढिला गरी म्याद थपका लागि निवेदन दिए पनि विभागले अस्वीकार गरेको थियो।
अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउँदै काम गराइएको उनले बताए। भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले धेरै पहिले देखिनै महानगरपालिकाले सडक विभागलाई महानगरको सवारी उच्च चाप र जोखिम देखिएका ठाउँहरुमा ट्राफिक लाइट राख्न अनुरोध गर्दै आएको थियो। सोहीअनुसार विभागले काम थालेको भए पनि ढिलाइ भएको उनले बताए। ‘ट्राफिक लाइट’ जडानसँगै सहज आवागमन र दुर्घटनामा कमी आउने उनको भनाइ छ।
प्रकाशित: ६ आश्विन २०८३ ०७:३२ मंगलबार





