बलिउड अभिनेत्री सञ्जिदा शेख र चलचित्र ‘सनम तेरी कसम’ का चर्चित अभिनेता हर्षवर्धन राणेको सम्बन्धलाई लिएर फेरि चर्चा सुरु भएको छ। पछिल्लो समय दुवैले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको पृष्ठभूमि एउटै देखिएपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको अनुमान गर्न थालिएका हो।
केही समयअघि सञ्जिदाले पुणेस्थित एक रिसोर्टका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। त्यसपछि हर्षवर्धनले पनि पुणेकै त्यही रिसोर्टको केबिनबाट तस्बिरहरू पोस्ट गरेका थिए। यी तस्बिर सार्वजनिक भएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा सामाजिक सञ्जालमा तीव्र भएको छ। फ्यानहरूले पनि दुवैका पोस्टमा उनीहरूको सम्बन्धबारे जिज्ञाषा व्यक्त गरिरहेका छन्।
सञ्जिदा र हर्षवर्धनले सन् २०२० मा रिलिज भएको फिल्म ‘तैश’ मा सँगै काम गरेका थिए। फिल्ममा सहकार्य गरेपछि नै उनीहरूबीच डेटिङ भइरहेको चर्चा सुरु भएको थियो।
यसअघि पनि दुवैका जंगल सफारीका तस्बिरहरूको पृष्ठभूमि समान देखिएपछि उनीहरूको सम्बन्धबारे चर्चा भएको थियो।
सञ्जिदा शेखले सन् २०२२ मा अभिनेता आमिर अलीसँग सम्बन्धविच्छेद गरेकी थिइन्। पछिल्लो समय हर्षवर्धनसँगको सम्बन्धलाई लिएर चर्चा बढेको छ। यद्यपि यसबारे दुवैले आधिकारिक रूपमा पुष्टि भने गरेका छैनन्।
प्रकाशित: २२ श्रावण २०८३ १६:०१ शुक्रबार

