२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ऋषि धमलाको दाबी- बालेनले चुनाव लड्न टिकट अफर गरेका थिए

रौतहट निर्वाचन क्षेत्र नम्बर-४ बाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूलाई चुनाव लड्न टिकट अफर गरेको दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्लबमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन्।

निर्वाचनमा जानुअघि रास्वपाका वरिष्ठ नेता शाहले आफूलाई दुई पटक भेटेर जहाँबाट चुनाव लडे पनि सहयोग गर्ने प्रस्ताव राखेको उनले बताए।

‘मलाई चुनावमा जानुभन्दा अगाडि बालेन शाहले बोलाएर दुई पटक भेटेर भन्नुभएको थियो। तपाईं आउनुस्, कहाँबाट कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ, म तपाईंलाई सहयोग गर्छु, टिकट दिन्छु भन्नुभएको थियो।’ धमलाले सुनाए।

बालेनको प्रस्ताव आकर्षक भए पनि आफूले रौतहटबाट आम जनता पार्टीको ‘मोबाइल’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निणर्य लिएकाे सुनाए। 

यद्यपि, आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको साधारण सदस्य नरहेको र प्राविधिक रूपमा मात्र चुनाव चिह्न प्रयोग गरेको उनको जिकिर छ।

उनले थपे, ‘आजको दिनबाट मैले जुन चुनाव चिह्न लिएर चुनाव लडेको थिएँ, त्यो पार्टीसँग र त्यो चिह्नसँग मेरो अब सम्बन्ध रहँदैन। मैले खाली चुनावमा मात्र त्यो प्रयोग गरेको थिएँ। मैले पार्टीको कुनै सदस्यता लिएको छैन। म उम्मेदवार भएँ तर कुनै दलको सदस्य होइन।’

आफूलाई मतदान गर्ने रौतहटवासीलाई उनले धन्यवाद दिएका छन्।

आम जनता पार्टीको उम्मेदवारका रूपमा रौतहट–४ मा प्रतिस्पर्धा गरेका धमलाले जम्मा ६ सय ६५ मत मात्र प्राप्त गरेका छन्।

यस क्षेत्रमा रास्वपाका उम्मेदवार गणेश पौडेल भारी मतान्तरका साथ विजयी भए। पौडेलले ३६ हजार ८ सय ७६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्।

प्रकाशित: २५ फाल्गुन २०८२ १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App