निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ अनुसार बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले विशिष्ट परिस्थितिमा सम्पन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गरेको भन्दै राष्ट्रपति पौडेलले आयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभामा कुल २७५ सदस्य निर्वाचित भएका छन्। जसमा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फ १६४ जना दलका उम्मेदवार र १ स्वतन्त्र गरी १६५ जना निर्वाचित भएका छन्। त्यसैगरी समानुपातिक प्रणालीतर्फ ६ राजनीतिक दलका ११० जना उम्मेदवार निर्वाचित भएका छन्।
यस पटकको प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला सदस्य निर्वाचित भएका छन्। जसमा समावेशी आधारमा आदिवासी जनजातिमा २१ दशमलव ९ प्रतिशत, खस आर्यमा ४९ दशमलव ९ प्रतिशत, मधेसी समुदायबाट १६ दशमलव ७३ प्रतिशत, दलिततर्फ ६ दशमलव १८ प्रतिशत, थारु समुदायबाट ३ दशमलव २७ प्रतिशत, मुस्लिमबाट ३ दशलवल ६४ प्रतिशत रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ११४ राजनीतिक दलकाे सहभागिता थियाे। जसमा १२ दलले संयुक्त रूपमा ५ चुनाव चिन्ह प्रयोग गरेका थिए भने १०२ दलले आफ्नै चिन्हमा प्रतिस्पर्धा गरेका थिए। निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ ६५ दल र समानुपातिकतर्फ ६३ दल सहभागी भएका थिए।
प्रत्यक्षतर्फ कुल ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा थिए , जसमा महिला ३ सय ८८ जना र पुरुष ३ हजार ०१७ सगैं अन्य एक जना उमेदवार रहेका थिए ।
प्रकाशित: ५ चैत्र २०८२ १८:२२ बिहीबार





