महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी र प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट शनिबार पुनःसंरचनाको औपचारिक सुरुवात गरिएको हो।
गत साता प्राप्त उजुरी र सार्वजनिक भिडियोका आधारमा मन्त्रालयले गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्तै जीर्ण पाइएको थियो।
भवनभित्र पानी जम्ने, ढल निकास नहुँदा दुर्गन्ध फैलिएको, शौचालय तथा स्नानगृह प्रयोगविहीन बनेको र फरक-फरक उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको फेला परेपछि मन्त्रालयले तत्काल हस्तक्षेप गरेको थियो।
त्यसलगत्तै पहिलो चरणमा दुई वर्षमुनिका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। बालबालिकाको उद्धारपश्चात् मन्त्री सिता बादीले बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी बालबालिकाका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन्। सोही निर्देशन कार्यान्वयन गर्दै आजदेखि पुनःसंरचनाको काम थालिएको हो।
मन्त्रालयका अनुसार पहिलो चरणमा ढल व्यवस्थापनको काम अघि बढाइएको छ। त्यसपछि भवन मर्मत, क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, शौचालय तथा स्नानगृह स्तरोन्नति, सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानीको प्रबन्ध तथा बालमैत्री पूर्वाधार निर्माणका कामहरू क्रमिक रूपमा अघि बढाइनेछ।
मन्त्री सिता बादीले आयोजना प्रमुख र निर्माण कम्पनीलाई आगामी दसैंअघि नै सम्पूर्ण पुनःसंरचना तथा पूर्वाधार सुधारका काम गुणस्तरीय रूपमा सम्पन्न गरी बाल मन्दिरलाई बालमैत्री संरक्षण केन्द्रका रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिएकी छन्।
राज्यको संरक्षणमा रहेका प्रत्येक बालबालिकाले सुरक्षित र सम्मानजनक वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको र सुधारका कामलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।
प्रकाशित: ९ श्रावण २०८३ १९:०१ शनिबार





