कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेश सभाको बैठक बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।
प्रदेश सरकारका प्रबक्ता, आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले हाल प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा हिउँदे अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी बैठक सञ्चालन गर्न लागिएको मन्त्री पराजुलीले बताए ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य ६ वटा महत्वपूर्ण निर्णयहरू समेत गरेको छ । सरकारले मन्त्रिपरिषदको कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ लाई स्वीकृत गरेको छ । यसैगरी, प्रदेशमा कानुनी सहायता सम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । बैठकले विकास आयोजनाहरूतर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय भएको छ । यो कार्यक्रम अन्तर्गत संघीय सरकारले ७७ करोड पुँजीगत र चालु ७० लाख रुपैयाँ उपलब्ध गराएको छ । विपन्न नागरिकको आवासको अधिकार सुरक्षित गर्नका लागि कोशी जनता आवास सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०८२ लाई मन्त्रिपरिषदले स्वीकृति गरेको छ ।
प्रकाशित: १५ माघ २०८२ १६:१९ बिहीबार





