राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जना र एक निजी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा प्रतिष्ठानका तत्कालीन पदाधिकारी, कर्मचारी तथा खरिद प्रक्रियामा संलग्न निजी कम्पनीका प्रतिनिधिहरूलाई प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूसँग ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बिगो दाबी गरेको छ।
प्रतिवादीमध्ये तत्कालीन उपकुलपति भण्डारी, रजिष्ट्रार कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी तथा हिमालयन मेडिटेक प्रालि र यसका प्रतिनिधि अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलगायत छन्।
अख्तियारका अनुसार प्रतिष्ठानका लागि ‘१२८ स्लाइस सीटी स्क्यान मेसिन’ खरिद गर्दा गुरुयोजना र आवश्यकताको पहिचान नगरी प्रक्रिया अगाडि बढाइएको, बोलपत्र खोल्नुअघि प्राविधिक स्पेसिफिकेसनमा अस्वाभाविक संशोधन गरी निश्चित कम्पनीलाई फाइदा पुग्ने व्यवस्था गरिएको तथा गुणस्तरीयताको गलत प्रतिवेदन तयार पारिएको अभियोग लगाइएको छ।
प्रकाशित: १५ माघ २०८२ १५:५९ बिहीबार

