१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

सिन्दूर, टुथपेष्ट र गाजलमा हानिकारक रसायन भेटियो

सर्वसाधारणले दैनिक प्रयोग गर्ने टुथपेस्ट, सिन्दूर र गाजलमा सिसाको मात्रा अत्यधिक रहेको एक अनुसन्धानबाट थाहा भएको छ। विभिन्न चारवटा सहरबाट संकलित नमुनाको वैज्ञानिक परीक्षण गर्दा सिसा फेला परेको जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले जनाएको छ। केन्द्रले हालै अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो।

विभिन्न चारवटा सहरबाट संकलित एक सय नमुना परीक्षण गर्दा सबै सामग्रीमा सिसाको मात्रा अत्यधिक फेला परेको केन्द्रको भनाइ छ। केन्द्रले काठमाडौं, पोखरा, जनकपुर र विराटनगरबाट नमुना संकलन गरेको हो। उक्त नमुना सरकारबाट मान्यताप्राप्त सोइल वाटर एन्ड एयर टेस्टिङ प्रयोगशालामा परीक्षण गरिएको अनुसन्धानकर्ता वातावरण वैज्ञानिक रामचरित्र शाहले बताए। प्रतिवेदनअनुसार ३१ प्रतिशत नमुनामा घातक रसायन सिसा फेला परेको हो।

उत्पादनअनुसार सिन्दूरमा ४० प्रतिशत, टुथपेस्टमा ४५ प्रतिशत सिसा भेटियो भने सबैभन्दा कम ३.४५ प्रतिशत गाजलमा सिसा भेटिएको छ। नेपालमा बालबालिका र महिलाले दैनिक प्रयोग गर्ने गाजलमा सिसाको मात्रा बढी भेटिनुले उनीहरूको स्वास्थ्यमा जोखिम बढेको अनुसन्धानमा सहभागी वातावरण वैज्ञानिक तथा सेफर्डका कार्यकारी निर्देशक रामचरित्र शाहले बताए। त्यसैगरी आम सर्वसाधारणले दैनिक प्रयोग गर्ने टुथपेस्टमा बढी सिसाको मात्रा पाइनुले थप जोखिम बढेको शाहले बताए। महिलाले प्रयोग गर्ने सिन्दूरमा सबैभन्दा बढी सिसाको मात्रा पाइएकाले यसले महिलाको स्वास्थ्यमा असर पार्ने उनले बताए।

शाहका अनुसार सिसाको मात्रा बढी भएका सामग्री प्रयोगबाट गर्भ तुहिने, जन्मिने शिशु बौद्धिक तथा शारीरिक अपांगता हुने, शरीरमा रगतको कमी, बालबालिकाको बौद्धिक क्षमता कमजोर, वृद्धि विकासमा अवरोध आदि समस्या आउँछन्।

मिर्गौला तथा मुटुसम्बन्धी रोग लाग्ने, उच्च रक्तचाप, मधुमेह तथा हर्मोन प्रणालीमा समस्या आउँछ। दैनिक यस्तो रसायनको सम्पर्क भएमा सिसाले स्वास्थ्यमा उच्च जोखिम निम्ताउँछ। १६ वटा नमुनामा ५१.६१ प्रतिशत सिसाको मात्रा पाइएको छ, जुन नेपाल–भारतले मान्यता दिएको १० पिपिएमभन्दा बढी हो।

सिसा भेटिएका २७ वटा नमुनामा युरोपियन युनियनले तोकेको ०.५ पिपिएमभन्दा बढी ८७.०१ प्रतिशत सिसाको मात्रा फेला परेको छ। केन्द्रले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म नेपालका चारवटा सहर काठमाडौं, पोखरा, जनकपुर र विराटनगरबाट नमुना संकलन गरेको थियो।

प्रतिवेदनअनुसार महिलाले दैनिक प्रयोग गर्ने सिन्दूरका ४० वटा नमुनामध्ये १६ वटामा सिसाको मात्रा अत्यधिक फेला परेको छ। १२४.७३ पिपिएम सिसाको मात्रा फेला परेको छ, जसमा काठमाडौंको ६० प्रतिशत नमुनामा सिसाको मात्रा अत्यधिक रहेको छ।

गाजलका २९ वटा नमुनामध्ये एउटा नमुनामा सिसाको मात्रा ३.४५ प्रतिशत पाइएको हो। त्यसैगरी टुथपेस्टका ३१ वटा नमुनामध्ये १४ वटामा सिसाको मात्रा ५१.२८ पिपिएम भेटिएको छ।

त्यसैगरी मन्जनको १४ वटा नमुनामा सिसाको मात्रा भेटिएको छ। तीमध्ये बालबालिकाले प्रयोग गर्ने मन्जनमा ५१.२८ पिपिएम सिसाको मात्रा पाइएको हो। हर्बलयुक्त मन्जन र विशेषगरी बालबालिकाका लागि भनिएका मन्जनमा सिसाको मात्रा पाइएको छ।

विशेषगरी चर्चित ब्रान्ड भनिएका पेप्सोडेन्ट, कोलगेट, दन्त कान्ति, क्लोज अफ, डाबर रेड, ममता सिन्दूर र पतञ्जली गाजलमा सिसाको मात्रा बढी पाइएको प्रतिवेदनले औंल्याएको छ। सौन्दर्य सामग्रीमा फेला परेका सिसाले जनस्वास्थ्यमा खतराको घन्टी बजेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

अनुगमनको अभावको परिणाम

यी सामग्रीको नियमन तथा अनुगमनका लागि नीति तथा निकायको आवश्यकता देखिएको बताए। यस्ता सामग्री हेर्ने निश्चित निकाय यकिन नहुँदा यस्ता समस्या देखा परेको औषधी व्यवस्था विभागका प्रमुख डा. नारायण ढकालले बताए। जनस्वास्थ्यमा आवश्यक नीगित सुधार र अनुगमनका लागि आवश्यक प्रमाण डा. शाहको अनुसन्धान प्रतिवेदनबाट मिलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. समिर अधिकारीले बताए।

कुन उत्पादनमा सिसाको मात्रा बढी छ भनेर अनुगमन नभएको स्थितिमा उपभोक्ता आफैं सचेत हुनुपर्ने निर्देशक शाहले सुझाए। सो क्रममा उनले बजारमा उपलब्ध यस्ता सामग्री किन्दा सिसारहित भनेर माग्ने या सिसाको लेबलिङ सोधेर मात्र किन्नुपर्ने सुझाए। यसका साथै सिन्दूर र गाजल प्रयोग नगर्न उचित रहेको उनको भनाइ छ।

प्रकाशित: १५ माघ २०८२ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App