जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिन सुरु गरेको छ।
दुई चरणमा विभाजन गरी तालिम दिन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बिहीबार फक्ताङलुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मिक्वाखोला गाउँपालिका तथा मेरिङेन गाउँपालिका र मैवाखोला गाउँपालिका वडा नं ५ र ६ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइने छ।
शुक्रबार फुङलिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिकाका सबै वडा तथा मेरिङदेन गाउँपालिका तथा मैवाखोला गाउँपालिकाका वडा नं १, २, ३ र ४ नम्बर वडामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिईने जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए। तालिमको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गरेका छन्।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष शिवराज सेढाइँले तालिमका मतदान अधिकृतले मतदानको समयमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना भएको बताए। सेढाइँले तालिम अवधिमा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको कर्तव्य, जिम्मेवारी र भूमिका प्रष्ट्याइने जानकारी दिए।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक र सहायक कर्मचारी तीन तथा कार्यालय सहयोगी एक गरी कुल ६ जनाका दरले कर्मचारी खटाउने गरी मतदान केन्द्रमा खटिने कर्मचारी तोकिसकेको छ। ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन्। फागुन २१ गतेको निर्वाचनका लागि यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र रहेको यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। पहिलो दिनको तालिम उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, निर्वाचन आचार संहिता अनुगमन अधिकृतहरू समेतको सहभागिता रहेको छ।
प्रकाशित: १४ फाल्गुन २०८२ १३:३८ बिहीबार





