विवेकशील साझा पार्टीकी निवर्तमान महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा आफू बिलाउन नआएको दाबी गरेकी छन्। आइतबार पार्टी एकता समारोहमा सम्बोधन गर्ने क्रममा विरोधीलाई लक्षित गर्दै रञ्जुले यस्तो बताएकी हुन्।
‘मलाई बारम्बार मिडियाका साथीहरूले र एकता मन नपाइरहेका साथीहरूले तिमिहरू बिलाउन गयौँ भनिरहनुभएको छ,’ रञ्जुले भनिन्, ‘हामी बिलाउन गएका होइनौँ हामी मिलाउन आएका हौँ। यो सबैले स्पष्टसँग सुन्नुहोला।’
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले यसअघि नै आफूहरू निःशर्त रास्वपामा एकीकरणमा जान लागेको बताएकी थिइन्। त्यसपछि नेपालमा वैकल्पिक राजनीतिका पथप्रदर्शक मानिएका दिवंगत नेता उज्जल थापाले स्थापना गरेको पार्टीको नामोनिसान मेटाएर रास्वपामा समाहित गराउन लागिएको भन्ने आरोप लागिरहेको छ।
सोही कुराको पनि रञ्जुले खण्डन गर्ने कोशिस गरिन्। ‘उज्जल दाइले सधैँभरी नाममा ल्याङल्याङ नगर, काम गरेर देखाऊ भन्नुहुन्थ्यो। आज हामीले त्यही गरेका छौँ,’ रञ्जुले दाबी गर्दै भनिन्।
यस्तै रास्वपामा गएर विवेकशील नेताहरूले अर्को लफाडा झिक्ने त होइन भन्दै अर्को फरक स्वर रास्वपाभित्रै जन्मिएको छ। त्यसविरुद्ध पनि रञ्जु आक्रमक सुनिइन्। ‘अर्को कुरा तपाईँहरूले धेरै टुटफूट ब्यहोरिसक्नुभयो। यहाँ आएर भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ,’ उनले भनिन्, ‘ए बाबा त्यही टुटफुट झेलिसकेकाले हामीले धेरै पाठ सिक्यौँ–टुटेर हुँदैन रैछ, जुटेर हुन्छ भनेर।’ उनले भनिन्। अबको राजनीति जुटकै हुने पनि उनले दाबी गरिन्। अबको निर्वाचनबाट वैकल्पिक शक्तिले बहुमत ल्याउनै पर्ने उनले बताइन्।
प्रकाशित: १४ मंसिर २०८२ १६:५३ आइतबार





