२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महागनरपालिकाको निर्वाचनमा एक २१ वर्षीया युवतीले सबैलाई चकित पार्नेगरी मत बटुलिन। ती थिइन्–तत्कालीन विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शना।
भलै त्यो निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएर जित्दा ४५ हजार २६९ मतसहित नेपाली कांग्रेसका राजुराज जोशी दोस्रो भएका थिए। तर चर्चा २३ हजार ४३९ मत ल्याएर तेस्रो भएकी रञ्जुकै बढी थियो।
उनीसँगै बिबिसी छाडेर आएका रवीन्द्र मिश्रको दल साझा पार्टीको समर्थनमा तत्काल स्वतन्त्र लडेका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका थिए।
रञ्जु र किशोर थापाले पाएको त्यो मत वैकल्पिक राजनीतिको ‘झिल्को’ थियो। एक २१ वर्ष टेकेकी युवती(रञ्जु)ले काठमाडौंको मतलाई बिथोल्दा धेरैको ध्यान उनीप्रति केन्द्रीत बन्यो।
असलमा त्यो मतका पछाडि वैकल्पिक राजनीतिका अभियन्ता उज्वल थापाको ‘ब्याकअप’ थियो। उनै दिवंगत थापालाई अहिले नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्नेहरू आफ्नो आदर्श पात्र ठान्छन्।
थापा राजनीतिमा एक रचनात्मक अभ्यास गर्ने पात्रका रूपमा परिचित थिए। जतिबेला शान्तिपूर्ण राजनीतिमा अवतरण भएपनि तत्कालीन माओवादी देशभर ‘नेपाल बन्द’को आह्वान गथ्र्यो, थापा ‘नेपाल खुला छ’ भनेर रचनात्मक प्रतिवाद गर्थे। अरु आफ्ना अजेन्डा राख्न तोडफोड र चक्काजाम गर्थे, थापा प्रहरीलाई फूल दिएर, प्रहरीले बोकेको बन्दुकको नालमा ‘फूल’ रोपेर धेरैको ध्यान तान्थे।
आफ्ना कुरा राख्दा उनले प्रायः रचनात्मक शैली प्रयोग गर्थे। उनका भाषाशैली शिष्ट, सभ्य, सुसंस्कृत र रचनात्मक नै हुन्थे।
पहिले विवेकशील अभियान र त्यसपछि वैकल्पिक राजनीतिकको वकालत गर्दै त्यसैलाई विवेकशील नेपाल दल बनाउँदा आफ्ना सहकर्मी र सहयात्रीलाई उनले त्यही सभ्यता र संस्कार सिकाए। त्यहीँ बाटोमा हिँडाए।
सोही कारण पुराना दल र तीनका व्यवहारबाट आजित एक बलियो तप्काले वैकल्पिक राजनीतिको वकालत थालेको थियो। वकालत मात्रै थालेन् जसको ब्याकअपमा बसेर सघाएको पनि थियो।
थापाले सजाएको त्यही राजनीतिक बगैँचाकी फूल थिइन्–रञ्जु पनि। सोही कारण पनि उनको भर्खरै किशोर बय छिचोलेको पात्रलाई काठमाडौंले त्यत्रो विश्वास गरेको थियो। उनका हालसम्मका अभिव्यक्ति र व्यवहारमा उस्तै शालीनता नै झल्किन्थ्यो पनि।
तर, आइतबार...
तर, आइतबार भने रञ्जु सार्वजनिक अपेक्षा विपरीत सुनिइन्। उनले आलोचकलाई निकै ‘कटु’ शब्दबाणले प्रहार गर्नसम्म भ्याइन्। आइतबार एक समारोहका बिचमा विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समाहित भयो। स्वयं विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले केहीदिनअघि मात्रै आफूहरू ‘निःशर्त रास्वपासँग एकीकरण गर्न लागेको’ घोषणा गरेकी थिइन्।
त्यसपछि विवेकशील साझाका पुराना केही समर्थकले ‘उज्जल थापाले स्थापना गरेको सुसंस्कृत अजेन्डा रास्वपामा लगेर बिलय गराउन लागेको’ भन्दै आलोचना गरेका थिए। आलोचना गर्नेहरू विवेकशील नेपाली अभियानमा संलग्न पात्रहरू नै बढी थिए।
हुन पनि भए संस्कारयूक्त राजनीतिको सुरुवात गरेको र त्यसैको पक्षमा वकालत गर्दै हिँडेको दल आफ्नै सभापति रवि लामिछाने बारम्बार संगीन मुद्दामा फसिरहँदा, सम्मानित अदालतबाट उसविरुद्ध फैसलादेखि आदेशसम्म आइरहँदा र पछिल्लो समय सहकारी ठगीको संगीन आरोप व्यहोरिरहँदा पनि उसैको देवत्वकरण गरेर हिँडिरहेको दलमा बिना शर्त, आफ्ना पुराना सबै मूल्यमान्यतालाई हापेर बिलय हुन जानु आफैमा स्तब्ध पार्ने निर्णय थियो। सोहीकारण कतिपय पुराना अभियन्ताले आलोचना गरिरहँदा कतिपयले आफ्नै मुख थुनेर बसेका छन्। पूर्वसंयोजक मिलन पाण्डेले तमाम प्रश्न उठाउँदै आफू केही समय ‘कुलिङ पिरियड’मा बस्ने घोषणा गरेका छन्।
पार्टी एकीकरणपछिको रास्वपा समारोहमा टेक्दा ती फरक मत राख्नेहरूमाथि रञ्जु ‘रास्वपा नेताकै स्टाइल’मा उत्रिएर खरो सुनिइन्।
‘मलाई बारम्बार मिडियाका साथीहरूले र एकता मन नपाइरहेका साथीहरूले तिमिहरू बिलाउन गयौँ भनिरहनुभएको छ,’ रञ्जुले भनिन्, ‘हामी बिलाउन गएका होइनौँ हामी मिलाउन आएका हौँ। यो सबैले स्पष्टसँग सुन्नुहोला।’ त्यसो भन्दा उनले उज्वल थापाकै ‘लाइन’ दाबी गर्दै आफ्नो समाहितलाई सही देखाउन एउटा दलील पनि पेस गरिन्। ‘उज्जल दाइले सधैँभरी नाममा ल्याङल्याङ नगर, काम गरेर देखाऊ भन्नुहुन्थ्यो। आज हामीले त्यही गरेका छौँ,’ रञ्जुले दाबी गर्दै भनिन्।
रञ्जुको निसाना पुराना विवेकशील अभियन्ताविरुद्ध मात्र थिएन्, अर्को निसाना उनले रास्वपाकै समर्थकपट्टी पनि सोझ्याइन्।
रास्वपाका कतिपय नेताकार्यकर्ता ‘विवेकशील साझाबाट आउने नेताहरू कतै पछि बखेडा झिक्ने त होइनन्’ भनेर सशंकित छन्। कसैकसैले खुला रूपमै संशय पनि व्यक्त गरिरहेका छन्। त्यसको जवाफ पनि उही किसिमले रञ्जुले दिइन्।
‘अर्को कुरा तपाईँहरूले धेरै टुटफूट ब्यहोरिसक्नुभयो। यहाँ आएर भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ,’ उनले भनिन्, ‘ए बाबा त्यही टुटफुट झेलिसकेकाले हामीले धेरै पाठ सिक्यौँ–टुटेर हुँदैन रैछ, जुटेर हुन्छ भनेर।’ उनले भनिन्। अबको राजनीति जुटकै हुने पनि उनले दाबी गरिन्। अबको निर्वाचनबाट वैकल्पिक शक्तिले बहुमत ल्याउनै पर्ने उनले बताइन्।
‘यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु–यहाँ भाँडभैलो हुन्न, गरिदैन्, गर्न आएका होइनौँ। राम्रै पाठ सिकिसकेका छाैँ,’ रञ्जुले भनिन्।
प्रकाशित: १४ मंसिर २०८२ २१:१२ आइतबार





