नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि चलिरहेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन मुख्य एजेन्डा छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबिच कडा प्रतिस्पर्धा हुनेछ। देशभरबाट हजारौँ प्रतिनिधि राजधानी काठमाडौं पुगेर नेतृत्व छान्ने तयारीमा जुटेका छन्।
यसैबिच, भदौ २३ को जेनजी आन्दोलनकी अगुवा तथा जेनजी फ्रन्टकी नेता रक्षा बमले सामाजिक सञ्जालमार्फत एमाले महाधिवेशन प्रतिनिधिहरूलाई खुला अपिल गरेकी छिन्। उनले भदौ २३ को घटनालाई स्मरण गर्दै ओली नेतृत्वको तत्कालीन सरकारले निहत्था युवामाथि गोली चलाएको आरोप लगाएकी हुन्।
उनले लेखेकी छन्, ‘यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ । के त्यो रगतको भागीदारिता तपाईहरू पनि वहन गर्न तयार हुनुहुन्छ ? त्यसैले पनि सम्भवतः यो एउटा अन्तिम अवसर हो।’
भदौ २३ को जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी ओलीले लिनुपर्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग बमसहितका अभियन्ताले राख्दै आएका छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
आदरणीय एमाले महाधिवेशन प्रतिनिधिज्यूहरू,
विशेष परिस्थितिमा नियमित समयभन्दा १ वर्ष अगाडि नै हुँदै गरेको नेकपा एमालेको महाधिवेशनमा हामी तपाईंहरूको मत पर्खेर बसेका छौं।
निकै रस्साकस्सीबिच तपाईंहरू महाधिवेशन प्रतिनिधि चुनिएर आउनुभएको कुरा विभिन्न सञ्चारमाध्यमहरूबाट हामीले थाहा पाएका छौं। अब तपाईंहरूको हातमा एउटा अभिभारा आइपरेको छ। तपाईंहरूले आफ्नो नेता, आफ्नो पार्टीको अध्यक्ष मात्र नभई, देशकै ठुलो मध्यको एउटा दलको अध्यक्ष र अन्य पदाधिकारीहरू पनि छान्दै हुनुहुन्छ। तपाईंहरूको भोटले तपाईंहरूको पार्टीको कार्यदिशा र मार्ग निर्देशन तय गर्नेछ।
र यतिखेर हामी तपाईंहरू सबैलाई पुनश्च: सेप्टेम्बर ८ अर्थात् भदौ २३ सम्झाउन चाहन्छौ। भदौ २३ एउटा सामान्य मिति मात्र थिएन। त्यस दिन तानाशाही व्यवस्थाविरुद्ध, आफ्नो संवैधानिक हकका खातिर संवैधानिक अधिकारको प्रयोग गर्दै, एउटा उमेर समूह अर्थात् जेन जी पुस्ता सडकमा उत्रिएको थियो। तर निरंकुश सरकारले निहत्था विद्यार्थीहरूमाथि गोली बर्सायो। कलिला युवाहरू जो सुन्दर भविष्यका सपना देखिरहेका थिए, उनीहरूको हत्या गर्यो। कयौँ विद्यार्थीहरूलाई घाइते बनायो। तपाईंहरूलाई पुनश्च: स्मरण गराऔं, त्यस तत्कालीन सरकारको नेतृत्व तपाईंहरूकै पार्टीको अध्यक्षले गर्नुभएको थियो, तपाईंहरूले गर्नुभएको थियो।
एमालेका नेतृत्वकर्ताहरूले भदौ २३ को घटनामा एकपटक माफी समेत मागेका छैनन् बरु सबैजसो सार्वजनिक अभिव्यक्तिहरूमा गिज्याउँदै त कहिले सार्वजनिक मञ्चहरूबाट गुण्डाहरूमार्फत धम्क्याउँदै हामीमाथि निरन्तर आक्रमण गराउन कोसिस गरिरहेका छन्। तर हामी यतिखेर शान्तिपूर्वक तपाई प्रतिनिधिहरूको मत पर्खेर बसेका छौं। हामी तपाईंहरूको नैतिकता हेरिरहेका छौं। हामी तपाईंहरूको देश प्रेम र देशका युवाहरूप्रतिको सद्भाव, महाधिवेशनको ब्यालेट बक्समा कसरी खस्छ, त्यो कुरिरहेका छौं।
आदरणीय प्रतिनिधि ज्यूहरू, यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ,के त्यो रगतको भागीदारिता तपाईंहरू पनि वहन गर्न तयार हुनुहुन्छ ? त्यसैले पनि सम्भवतः यो एउटा अन्तिम अवसर हो। तपाईंको पार्टीलाई सच्याउने, तपाईंहरू पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर तपाईंहरूले गुमाउनुभयो भने, तपाईंहरूको पार्टी मात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ। तपाईंहरूको मन एकातिर मत एकातिर नहोस्। यसपटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ निम्त्याओस्।
एउटा तानाशाही शासकको अहंकारी गोलीबाट बाँचेकी, एक जेन जी आन्दोलनकारी।
- रक्षा बम
प्रकाशित: २८ मंसिर २०८२ १२:२० आइतबार





