१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निजी क्षेत्र निर्वाचनमा सहयोगी बन्छः अध्यक्ष सापकोटा

प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारलाई नेपाल उद्योग व्यवसायी महासङ्घले तोकिएकै समयमा निर्वाचन गराएर आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ।

२०८२ भदौ २३ गते युवा पुस्ता जेन–जी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारले तोकिएकै समयमा निर्वाचन गराएर मुलुकलाई निकास दिनु पर्ने धारणा सार्वजनिक गरेको हो। नेकपा एमाले निकट रहेको महासङ्घले सरकारको काँधमा राष्ट्रपतिद्वारा सुम्पिइएको र २०८२ फागुन २१ मा हुने आम निर्वाचनलाई सफल बनाउन सम्पूर्ण निजी क्षेत्र सहयोगी हुन चाहने पनि जनाएको छ।

‘सरकारको काँधमा सम्माननीय राष्ट्रपतिद्वारा सुम्पिइएको र २०८२ फागुन २१ मा हुने आम निर्वाचनलाई सफल बनाउन सम्पूर्ण निजी क्षेत्र सहयोगी हुन चाहान्छौं,’ महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले भने। सोसल मिडिया प्लेटफर्महरूमाथिको प्रतिबन्ध हटाउन, देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेर गरेको आन्दोलनमा सरकारी दमनको कारणले सहभागी अबोध युवाहरूको ज्यान गएकोमा सिङ्गो निजी क्षेत्रलाई अत्यन्तै दुःखी बनाएको पनि उनले बताए। 

आन्दोलनमा व्यापक घुसपैठ गरी अराजकतावादीहरूले सिंहदरबार, शीतल निवास लगायत विभिन्न पुरातात्त्विक सम्पत्ति तथा ऐतिहासिक दस्ताबेजहरूका साथै सेवा–प्रवाह गर्ने सबैजसो सार्वजनिक संस्थान र निजी क्षेत्रहरूमा आगजनी र तोडफोड भएको र अराजकतावादीहरूले योजनाबद्ध र सूची बनाई सर्वोच्च अदालत, देशका विभिन्न ठाउँमा रहेका प्रहरी चौकी, नगरपालिकाहरू भवन र दस्ताबेज जलाएकोमा पनि निजी क्षेत्र दुखी भएको उनको भनाई छ।

‘मुलुकभरका उद्योगव्यवशायीका औद्योगिक तथा व्यवशायिक प्रतिष्ठान र निजी आवासमा आगजनी गरी ध्वस्त भए, भाटभटेनी, चौधरी ग्रुपको औद्योगिक क्षेत्र, हिलटन होटेल, चन्द्रागिरि – मौलाकाली– कालिन्चोक केवलकार, सञ्चार गृहहरू, पोखरा स्थित सरोवर होटेल लगायत अन्य सूचनामा नआइसकेका निजी क्षेत्रका उद्योग–व्यवसायलाई तहस–नहस भए, अब यस्तो नहोस्,’ महासङ्घ अध्यक्ष सापकोटाले भने, ‘यी कामहरू अबोध युवाहरूबाट भएको होइन भन्नेमा हामी विश्वस्त छौँ।’

उनले अराजकतावादी घटनाबाट उद्योग व्यवसायमा भएको क्षतिको उचित क्षतिपूर्तिको माग गरेका छन्। ‘जेन्जी विद्रोहको पृष्ठभूमिमा निर्माण भएको सरकारले भयरहित वातावरण बहाली गराउन तथा शान्ति कायम गराउन सक्नेछ र २०८२ फागुन २१ मा हुने आम निर्वाचनलाई सफल बनाउनु सम्पूर्ण निजी क्षेत्रको दायित्व र निजी क्षेत्रले यसलाई सहयोग गर्नेछ,’ सापकोटाले भने।

प्रकाशित: १ आश्विन २०८२ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App