इरानको गेराश क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ। यो भूकम्पको केन्द्र सतहबाट करिब १० किलोमिटर गहिराइमा थियो।
यसैबिच, इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या भएपछि देशले राज्यको जिम्मेवारी सम्हाल्न तीन सदस्यीय संक्रमणकालीन परिषद् गठन गर्ने घोषणा गरेको छ।
अल जजीराका अनुसार यो अन्तरिम परिषदमा अयातोल्लाह अलिरेजा अराफी नियुक्त भएका छन्। परिषद्का अन्य दुई सदस्यहरू राष्ट्रपति मसुद पेजेश्कियान र सर्वोच्च अदालतका मुख्य न्यायाधीश घोलाम-हुसेन मोहसेनी-इजेई हुन्।
इरानको वर्तमान संविधानको धारा १११ अनुसार, शनिबार अमेरिका–इजरायलको घातक आक्रमणमा खामेनीको ३७ वर्षे शासनकाल टुटेपछि ८८ सदस्यीय समितिले नयाँ सर्वोच्च नेता चयन नगरेसम्म यो संक्रमणकालीन परिषद्ले देशको शासन गर्नेछ।
इरानको एसेम्बली अफ एक्सपर्टका सदस्य अली मोआलेमीले नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया लामो नहुने बताएका छन्।
प्रकाशित: १९ फाल्गुन २०८२ १३:३३ मंगलबार





