प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भाग लिन शनिबार चीन प्रस्थान गर्दैछन्। लिपुलेक मुद्दालाई लिएर यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।
नेपालको सम्भावित भूमिकाबारे पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले छिमेकी मुलुकहरू भारत र चीनसँग लिपुलेक मुद्दामा स्पष्ट अडान राख्नुपर्ने र एससीओजस्ता मञ्चहरूमा सक्रिय सहभागिता जनाएर आफ्नो कूटनीतिक दायरा फराकिलो बनाउनुपर्ने बताउँछन्।
लिपुलेकसहितको सीमा विवाद नेपालको परराष्ट्र नीतिमा संवेदनशील मुद्दा बनेको छ। चीन भ्रमणमा रहँदा प्रधानमन्त्रीले यो विषयलाई भारत र चीनसँगको कूटनीतिक भेटमा प्राथमिकताका साथ उठाउने उनको विश्वास छ। ‘हामीले सन् २०१५ मा चीनलाई डिप्लोमेटिक नोट पठाएका थियौँ। भारतसँग पनि यो विषयमा बहस भएको छ, तर भारतले हाम्रो भूभागमाथिको दाबीलाई स्वीकार गर्न मानेको छैन,’ नागरिकसँग उनले भने।
उनले नेपालले यो मुद्दालाई तत्काल वार्ताको टेबलमा ल्याउनुपर्ने जोड दिए। ‘हामीले तुरुन्त वार्ताको टेबलमा यो विषय ल्याउनुपर्छ। संयन्त्र बनाएर समस्याको समाधान खोज्नुपर्छ। नेपालले आफ्नो भूभागको रक्षा गर्न स्पष्ट अडान राख्नुपर्छ,’ उनको भनाइ छ। मित्रराष्ट्रहरूसँग खुला र पारदर्शी कुराकानीको महत्त्वलाई जोड दिँदै उनले भने, ‘हामीले हाम्रो असहमति प्रष्टसँग राख्नुपर्छ। मित्रराष्ट्रहरूसँग खुला कुराकानी गर्नुपर्छ, चाहे त्यो सहमति होस् वा असहमति।’ भारत र चीनको उदाहरण दिँदै उनले लिपुलेक विवादले दुई देशबिच सम्बन्धमा तनाव सिर्जना गरे पनि यसले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई प्रभावित गर्न नहुने तर्क गरे।
एससीओमा नेपालको सम्भावित भूमिकाबारे बोल्दै ज्ञवालीले यो मञ्चले नेपाललाई आर्थिक, सांस्कृतिक र कूटनीतिक अवसरहरू प्रदान गर्न सक्ने बताए। उनले नेपालको सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई जोड दिए। ‘प्राचीन एसियाली सभ्यताको हिस्साको रूपमा नेपालले सांस्कृतिक दृष्टिकोणले पनि यो मञ्चमा योगदान दिन सक्छ। हाम्रा दुई छिमेकी देशहरू सक्रिय रहेको यो मञ्चले त्रिदेशीय सहयोगको ढाँचा बनाउन सहयोग गर्न सक्छ,’ उनले भने।
एससीओमा नेपाल अहिले डाइलग पार्टनर रहेको छ। कम्तीमा पर्यवेक्षक (अब्जर्भर) हैसियत प्राप्त गर्न जोड दिनुपर्ने उनको सुझाव छ। ‘हामीले धेरै प्रयास गरेका छौँ, तर भारत र चीनबिचको तनावले नयाँ सदस्य थप्ने प्रक्रियामा अवरोध भएको छ। तैपनि, नेपालले आफ्नो स्वतन्त्र विचार र नीति राखेर यो मञ्चमा सक्रिय हुनुपर्छ,’ उनले भने।
विश्वको बदलिँदो शक्ति सन्तुलनमा नेपालको भूमिकाबारे ज्ञवालीले भने, ‘विश्वमा नयाँ शक्ति सन्तुलन निर्माण भइरहेको छ। चीन, रुस, भारत, र इरानजस्ता उदीयमान शक्तिहरूको सहभागिताले एससीओको महत्त्व बढेको छ। यस्ता मञ्चहरूमा नेपालको सहभागिताले हाम्रा सम्बन्धलाई फराकिलो बनाउँछ।’ उनले नेपालले मध्य एसियाका देशहरूसँग समन्वय गरेर ऊर्जा र व्यापारका नयाँ बजारहरू खोज्न सक्ने बताए। ‘हामीले यस्ता मञ्चहरूमा आफ्ना उत्पादनका लागि नयाँ बजार खोज्न सक्छौँ। मध्य एसियाका देशहरूसँग समन्वय गरेर हामीले ऊर्जा र अन्य क्षेत्रमा सहकार्य गर्न सक्छौँ,’ उनको भनाइ छ।
ज्ञवालीले एससीओलाई सैन्य गठबन्धनभन्दा सहअस्तित्व र स्वस्थ प्रतिस्पर्धाको मञ्चका रूपमा व्याख्या गरे। ‘एससीओ नाटोजस्तो सैन्य गठबन्धन होइन। यो ग्लोबल सुरक्षाको कुरा गर्छ। सबै देशहरूले सहअस्तित्वमा रहनुपर्छ भन्ने मान्यता राख्छ। फरक-फरक प्रणाली भएका देशहरूबिच स्वस्थ प्रतिस्पर्धा र सहयोगको वातावरण छ,’ उनले भने।
ज्ञवालीले नेपालको कूटनीतिमा सन्तुलन र स्वतन्त्रताको महत्त्वलाई जोड दिए। ‘हामीले हाम्रा मित्रराष्ट्रहरूसँग विश्वासको सम्बन्ध बनाउनुपर्छ। कुनै विषयमा असहमति भए पनि खुला कुराकानी गर्नुपर्छ। हाम्रो पोजिसन स्पष्ट हुनुपर्छ, चाहे त्यो लिपुलेकको विषय होस् वा अन्य कुनै,’ उनले भने। उनले साइडलाइन बैठकहरूमा पनि नेपालले आफ्ना विषयहरू राख्नुपर्ने सुझाए। ‘साइडलाइन मिटिङहरूमा हामीले लिपुलेकजस्ता विषयहरू राख्नुपर्छ। हाम्रा मित्रराष्ट्रहरूसँग हाम्रा अपेक्षा र असहमतिहरू खुला रूपमा राख्नुपर्छ,’ उनले भने।
नेपालले आफ्ना मित्रराष्ट्रहरूसँग खुला र सन्तुलित कुराकानी गर्दै आफ्ना कूटनीतिक र आर्थिक एजेन्डाहरूलाई अगाडि बढाउनुपर्ने ज्ञवालीको सुझाव छ। लिपुलेकजस्ता संवेदनशील मुद्दाहरूमा वार्ताको माध्यमबाट समाधान खोज्न र एससीओमा नेपालको प्रभावकारी सहभागिताले कूटनीतिक दायरा विस्तार गर्न सकिने उनको विश्वास छ।
प्रकाशित: १३ भाद्र २०८२ २०:१२ शुक्रबार





