प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका लागि महत्त्वपूर्ण विषयहरूमा चीनको सहयोग मागेका छन्।
चीनको थियानजिनमा शनिबार भएको उच्चस्तरीय द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले बीआरआई परियोजनाको कार्यान्वयनदेखि मल, पेट्रोलियम अन्वेषण र सांघाई सहयोग संगठन (एससीओ) को सदस्यतासम्मका विषयमा चीनको साथ खोजेका हुन्।
भेटपछि बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गरेका थिए।
यसका साथै उनले नेपालका लागि रासायनिक मलको सहज आपूर्ति, पेट्रोलियम पदार्थको अन्वेषण, मानव संसाधन विकास, जलवायु उत्थानशीलता र एससीओमा नेपालको सदस्यता प्राप्तिको आकांक्षामा पनि चीनको सहयोगको अपेक्षा गरे।
संवेदनशील कूटनीतिक विषयमा पनि प्रधानमन्त्रीले नेपालको अडान स्पष्ट राखे। उनले लिपुलेक पास हुँदै हुने सीमा व्यापारबारे हालै भएको चीन-भारत समझदारीप्रति नेपालको गम्भीर आपत्ति रहेको बताए।
उनले उक्त भूभाग नेपालको भएको दृढतापूर्वक उल्लेख गरेको विज्ञप्तिमा जनाइएको छ।
त्यसको जवाफमा राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको राजदूतावासले जनाएको छ।
उनले ‘एक चीन नीति’ प्रतिको नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै बीआरआई परियोजना कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत दोहोर्याए।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार दिउँसो चीन पुगेका हुन्।

प्रकाशित: १४ भाद्र २०८२ २१:२४ शनिबार





