४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जब दुर्घटनास्थलमै ट्याक्टर छाडेर चालक श्रीमती लिएर फरार भए...

अघिल्लो राति दुई जनाको ज्यान जाने गरी दुर्घटनामा परेको ट्याक्टर छाडेर श्रीमतीसहित भागेका चालक अझै भेटिएका छैनन्। २० गते राति ८ः३० बजे दुर्घटनामा परेका ४ घाइतेलाई त्यहीँ छाडेर श्रीमतीसहित फरार त्रियुगा नगरपालिका-६ बगरटोलका ३० वर्षीय बिलेतीय भन्ने मनोज साह ३६ घण्टासम्म नभेटिएको प्रहरीले जनाएको छ।  

त्रियुगा नगरपालिका ७ होक्सेबाट सिमेन्ट र बालुवा घोल्ने मिक्सचर मेसिन बोकेर चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नं. को ट्याक्टर मदन भण्डारी लोकमार्गमा दुर्घटनामा परेलगत्तै चालक साह घटनास्थलमा चार घाइते छाडेर भागेका थिए। होक्सेस्थित घुम्ती ओरालोमा सडकमा दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ मध्ये २ यात्रुको निधन भएको छ भने २ घाइते भएका छन्।

रातिको समयमा ट्याक्टर दुर्घटनामा परेपछि घाइते र मिक्सचर मेसिन घटनास्थलमै छाडेर उनी ट्याक्टर लिएर घर पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङका अनुसार घटना भएको जानकारी पाएर प्रहरी पुग्दा ४ जना गम्भीर घाइतेहरू र मिक्सचर मेसिन मात्र भेटिएको थियो। घाइतेहरूको बयान अनुसार प्रहरी टोली त्रियुगा नगरपालिका ६ बगर टोल पुग्दा ट्याक्टर घरमै रहेको, साह र श्रीमती भने फरार भएको पाइएको डिएसपी दोङलेब ताए।

दुर्घटनामा परि त्रियुगा ६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र ६ नं. कै मोहनपुरका २६ वर्षीया आशा सदाको निधन भएको छ। गम्भीर घाइते अवस्थामा भेटिएका उनीहरूको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा मध्यराति चिकित्सकले मृत घोषित गरेको दोङले बताए।

अन्य दुई घाइतेमध्ये त्रियुगा नगरपालिका ६ मोहनपुरकै ४० वर्षीया समिद्रा सदाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने त्रियुगा ६ जलजलेका ४५ वर्षीय शम्भु सदा जिल्ला अस्पतालमै उपचारपछि डिस्चार्ज भएका छन्।

दुई जनाको ज्यान जाने गरी दुर्घटनामा परेर श्रीमतीसहित फरार भएका चालक साहको खोजी भइरहे पनि अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ। रातिको समय भएकाले दुर्घटनाबारे कसैलाई थाहा नभएको दाउ छोपेर भागेका उनको चारैतिर खोजी भइ रहे पनि ३६ घण्टासम्म भेटिएको छैन। उनी तराई जिल्ला सप्तरी, सिराहाको नाका भएर छिमेकी मुलुक भारततर्फ भागेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

प्रकाशित: २२ पुस २०८२ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App