प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादित अर्ग्यानिक कृषिको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीहरूसँगको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
विदेशबाट अन्तर्राष्ट्रिय प्रमाणीकरण गराउँदा निकै खर्चिलो हुने भएकाले सरकारकै नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एजेन्सी नेपालमै स्थापना गर्न व्यवसायीहरूले माग गरेका थिए।
देशभित्रै एजेन्सी स्थापना नभएसम्म सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशत अनुदानलाई पुनः सुचारु गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्ने बताए।
प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउन र रासायनिक मलले पाए सरहको सुविधा अर्ग्यानिक मललाई पनि दिन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
यस्तै, दुई वर्षदेखि रोकिएको अर्ग्यानिक उत्पादन निर्यात अनुदानको कानुनी समस्या निराकरणका लागि सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको जानकारी प्रधानमन्त्री शाहले दिए।
छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य लगायतको सहभागिता रहेको थियो।
प्रकाशित: ७ श्रावण २०८३ १६:१२ बिहीबार





