१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे अन्तर्क्रिया हुन लागेको हो।  

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा हुने कार्यक्रममा दुई वटा प्यानल डिस्कसन समेत राखिएको छ। हिसानका अध्यक्ष युवराज शर्माका अनुसार 'नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली' विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ।

अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिए। निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, ऊर्जा, उद्योग व्यवसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतीका विषयमा छलफल गरिनेछ।

प्यानल छलफलमा हिसानका पूर्व अध्यक्ष रमेश कुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं ससहभागी हुने छन्।  

प्यानलमा सहभागी वक्ताहरूले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्या र समाधानका उपाय, नीतिगत अवरोधहरू र नयाँ सरकारसँगका अपेक्षा राख्ने छन्। यसैगरी जेनजी र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताए।

उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अंगालेको निजी क्षेत्र सम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरू राख्ने छन्। कार्यक्रम दिउँसो ३ बजे दमक चौक स्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ।  

अध्यक्ष ओली आजै काठमाडौंबाट झापा आएका छन्।

प्रकाशित: ९ फाल्गुन २०८२ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App