१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कार्यसमितिको म्याद थप्ने भए विशेष महाधिवेशनको सामना गर्न तयार रहनुस्: प्रदीप पौडेल

फाइल तस्बिर।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमितिको म्याद थप गरिए विशेष महाधिवेशन अनिवार्य हुने बताएका छन्।

उनले केन्द्रीय समितिको म्याद थपिँदा महाधिवेशन प्रतिनिधिको पनि स्वतः म्याद थपिने भएकाले उनीहरूले विधानसम्मत माग गरेको विशेष महाधिवेशन रोक्न नमिल्ने तर्क गरे।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले भने, ‘विशेष अधिवेशन किन गर्नुपर्छ भन्ने लाग्छ भने, केन्द्रीय कार्यसमिति बनाएको महाधिवेशनले हो। केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थप्दा आठवटै तहका र महाधिवेशन प्रतिनिधिको पनि म्याद थपिन्छ। त्यसैले उहाँहरूको अधिकार जीवित रहन्छ।’

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा नेतृत्व पछि हट्न नमिल्ने बताए।

‘हाम्रो विधानले स्पष्ट भनेको छ, माग गरेको मितिबाट तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ,’ पौडेलले भने, ‘उहाँहरूको समय सकियो कि भन्न सक्नुपर्‍यो, तर समय सकिएको छैन। सबैको समय थप्ने हो भने उनीहरूको माग बमोजिम विशेष अधिवेशन गर्नैपर्छ।’

पौडेलले पार्टीलाई चुनावमा लैजानुअघि नीतिगत प्रष्टता अनिवार्य रहेको र त्यसका लागि महाधिवेशन एकमात्र विकल्प भएको बताए।

‘अधिवेशनले मात्रै नेतृत्व चयन गर्ने होइन, नीतिगत प्रष्टता पनि दिन्छ,’ उनले भने, ‘जेनजी आन्दोलनका कुरा छन्, प्रत्यक्ष कार्यकारीको विषय उठेको छ। यी विषयमा पार्टीको धारणा के हो ? यस्ता नीतिगत विषय महाधिवेशनले मात्र टुंगो लगाउन सक्छ।’

विशेष महाधिवेशनको मागलाई पार्टी फुटाउने खेल वा सभापति बन्ने हतारोको रूपमा व्याख्या गर्नु गलत भएको उनको भनाइ थियो। ‘विधानमा भएको व्यवस्था प्रयोग गर्न खोज्दा पार्टी फुटाउन लाग्यो भनेर हेप्न पाइँदैन,’ पौडेलले भने।

प्रकाशित: १३ कार्तिक २०८२ १९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App