कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दलिततर्फबाट एमालेका सोम पोर्तेल र महिलातर्फ एमालेकै रोशनी मेचे निर्वाचित भएका छन्। आज भएको राष्ट्रियसभा निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आइतबार भएको निर्वाचनमा महिलाबाट एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गरेकी हुन्। मेचेले ७ हजार १७३ मतभार प्राप्त गरेकी छन्। न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरेकी छन्।
यस्तै दलिततर्फ एमालेकै पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका छन्। पोर्तेलले ७ हजार ४२३ मतभार प्राप्त गरे। सुन्दासले २ हजार २७ मतभार प्राप्त गरेको निार्वचन अधिकृतको कार्यालयले जनाएको छ। कोशी प्रदेशबाट राष्ट्रिय सभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो। खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए। प्रतिनिधि सभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्दाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट नाम हटाइएको थियो।
राष्ट्रियसभा निर्वाचनमा कोशीमा स्थानीयतह तर्फका २७४ जनप्रतिनिधि मध्ये २६७ को मतदाता नामावलीमा नाम समावेश भएको थियो। जसमध्ये २ सय ५८ जनाले मतदान गरेका थिए। यस्तै प्रदेश सभातर्फ २९३ जना सदस्य मध्ये २९२ जनाको अन्तिम नामावलीमा नाम समावेश भएको थियो। जसमध्ये ८७ जनाले मतदान गरेका थिए।
मतदान गरेका मध्ये प्रदेशसभा तर्फको एक मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १९ रहेको थियो।
प्रकाशित: ११ माघ २०८२ १९:४६ आइतबार





