२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

राजनीतिमा प्रतिशोधका कारण, को कतिखेर जेल पर्छ थाहा हुन्न: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा पूर्वाग्रह र प्रतिशोधका कारण जो कोही पनि जुनसुकै बेला जेल पर्न सक्ने अनिश्चितता रहेको बताएका छन्।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा तत्कालीन राजनीतिक नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका मुद्दालाई ‘ड्रामा’ को संज्ञा दिँदै त्यसलाई राजनीतिक प्रतिशोधको एक प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक यात्रामा आउने अप्रत्याशित संकटहरूतर्फ संकेत गरे।

उनले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएर नेताहरूलाई घरघरमा र जेलमा थुन्ने काम गरेको स्मरण गरे।

‘राजनीतिमा कतिबेर को जेल पर्छ, पर्दैन भन्न सकिँदैन। पूर्वाग्रह, प्रतिशोध...,’ ओलीले भने ‘अस्ति मात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि... नेताहरूलाई सबलाई घर-घरमा, जेलमा लगेर थुन्ने। अनि भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो। योभन्दा ठूला ड्रामा अरु के हुन्छ ?’ 

प्रधानमन्त्री ओलीले राजनीतिक प्रणालीमा हुने उतारचढाव र शक्तिमा रहेकाहरूले प्रतिशोध साध्न सक्ने खतरा सधैं रहनेतर्फ ध्यानाकर्षण गराए। उनले आफूहरूले पनि त्यस्ता ‘ड्रामा’ हरूसँग लड्दै आएको बताए।

प्रकाशित: ११ श्रावण २०८२ २०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App