नेपाली कांग्रेसका नेता किशोरसिंह राठौंरले राजनीति सधैं सरल नहुने बताएका छन्। बाँकेको खजुरामा पार्टीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले राजनीति गर्नेहरू सबै परिस्थितिका लागि तयार हुनुपर्ने धारणा राखे।
‘मुलुकको अहिले जुन परिस्थिति छ, देश संकटमा छ, यस्तो बेलामा निर्वाचन भइरहेको छ,’ कांग्रेसका निवर्तमान सहमहामन्त्री राठौंरले भने, ‘देश रहेन भने राजनीति केही हुँदैन, हाम्रो लागि देश प्रमुख हो, हामी राजनीति गर्ने मान्छेका लागि देश प्रमुख हो, हामीले राजनीति देश र जनताको लागि गरेको हो।’
देश र व्यवस्था बचाउन आगामी फागुन २१ मा चुनावमा जानुपर्ने स्थिति रहेको उनले प्रष्ट्याए। कांग्रेसले हार्यो भने देश नरहने उनले चेतावनी दिए।
उनले थपे, ‘कांग्रेसले हार्याे भने यो व्यवस्था रहँदैन, त्यसका लागि कांग्रेस जिताउन जरुरी छ, नत्र यो देश युक्रेन र सिरिया जस्तो बन्नेछ।’
राष्ट्रिय राजनीति गर्नेका लागि बाहिरभित्र भनेर अर्थ नहुने बताए। ‘राजनीतिमा नेताहरू परिस्थितिअनुसार जहाँबाट पनि चुनाव लड्नुपर्ने हुन्छ, हिजोका दिनमा मलाई बाहिरको उम्मेदवार भनेर आरोप लगाइयो, बाँके क्षेत्र नम्बर ३ का जनताले मलाई यो क्षेत्रबाट चुनाव जिताउनुभएको गुण म कहिल्यै बिर्सने छैन, यसपटक म बर्दियाबाट चुनाव लड्दैछु, यस क्षेत्रमा कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन यसपटक लड्दै हुनुहुन्छ,’ राठौंरले भने।
अमर जस्तो इमान्दार र नैतिकवान् मान्छेलाई कांग्रेस पार्टीले बाँकेमा उम्मेदवार बनाएको उनले बताए। ‘जसरी हिजो मलाई यहाँका जनताले जिताउनुभयो, तपाईको भरोसामा अमरजी चुनाव लड्न आउनुभएको छ,’ उनले थपे।
राजनीतिमा सबैको पालो आउने बताउँदै उनले अस्थिर राजनीति गर्ने मान्छे राजनीतिमा धेरै समय टिक्न नसक्ने ठोकुवा गरे। ‘राजनीति व्यापार व्यावसासाय गरेको जस्तो हुँदैन, राजनीति दिनका लागि गर्ने हो। राजनीतिलाई सेवाको रूपमा हेर्न नसकेका कारण नेपालका राजनीतिक पार्टीहरू बदनाम मात्र नभएर ७० वर्ष लगाएर ल्याएको व्यवस्था नै अप्ठ्यारो अवस्थामा रहेको भन्दै राठौंरले चिन्ता ब्यक्त गरे।
आफू २०७९ को प्रतिनिधि सभाको सांसद भए पनि बाँकेको क्षेत्र नम्बर ३ मा धेरै विकासका कामहरू गरेको र राजनीतिक अस्थिरताले कतिपय कामहरू चाहेर पनि पूरा गर्न नसकेको उनको भनाइ छ । ‘जसरी मलाई विश्वास गर्नुभयो, त्यो विश्वासलाई कायम राख्नुहुनेछ,’ कांग्रेसका निर्वतमान सहमहामन्त्री राठौंरले भने।
प्रकाशित: ८ माघ २०८२ १०:३२ बिहीबार





