राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै महामन्त्री बुर्लाकोटीले कानुनको पालना गर्ने कुरामा रास्वपा प्रतिबद्ध रहेको तर लामिछानेलाई हिरासतमा राखिरहनु प्रतिशोध भएको बताएका हुन्।
तर, उनले अन्य दलका नेताहरूतर्फ इङ्गित गर्दै भने, ‘त्यो भन्दा अधिक विगो सहितको आरोप लागेका कयौँ नेताहरू तत्कालिन सरकारबाट एकै दिन पनि हिरासत नबसी न्युन धरौटीमा बाहिर हुनुभएको तथ्य हामीले देखेका छौँ। यो राजनीतिक प्रतिशोध भएको तथ्य यो विद्वत् सभालाई बिना आग्रह–पूर्वाग्रह स्मरण गराउन चाहन्छु।’
प्रधानमन्त्री र मन्त्रीहरू नै सेनाको हेलिकप्टरबाट उद्धार हुनुपर्ने अवस्था आउनुले गहिरो आत्मसमीक्षा गर्नुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ थियो।
विगत ३०–३५ वर्षदेखि देशको नेतृत्व गरिरहेका दलहरूले पछिल्लो समय देखिएको नयाँ पुस्ताको विद्रोह र नेतृत्व पुस्तान्तरणको मागलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए।
‘अहिलेको युवा विद्रोह र आम नागरिकको चाहना अनुसार नेतृत्व पुस्तान्तरणको मागलाई हामी सबैले बुझेका छौँ,’ उनले भने।
साथै, महामन्त्री बुर्लाकोटीले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई मतदानको अधिकार दिनुपर्ने बताए।
उनले विश्वविद्यालय, सरकारी निकाय र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण भएको भन्दै दलहरूले आफ्नो नीति र कार्यक्रम मार्फत जनतालाई समेट्नुपर्नेमा अनावश्यक क्षेत्रमा दलीयकरण गरेर बिगारेको आरोप समेत लगाए।
उनले लोकतान्त्रिक दलहरू भित्रको आन्तरिक लोकतन्त्र बलियो भए मात्र देशको लोकतन्त्र बलियो हुने भन्दै एमाले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।
प्रकाशित: २७ मंसिर २०८२ १६:०१ शनिबार





